भाइ र पूर्वपत्नीविरुद्ध नवाजुद्दीनकाे मानहानी मुद्दा, सय करोड क्षतिपूर्ति माग

भाइ र पूर्वपत्नीविरुद्ध नवाजुद्दीनकाे मानहानी मुद्दा, सय करोड क्षतिपूर्ति माग


केही समययता पारिवारिक तनावमा रहेका बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले आफ्नो भाइ शमसुद्दीन र पूर्वपत्नी अन्जना पाण्डेविरुद्ध मानहानीको मुद्दा दायर गरेका छन् ।

नवाजुद्दीनले भाइ र पूर्व पत्नीको भ्रामक दावीका कारण आफ्नो मानहानी र उत्पीडन भएको भन्दै क्षतिपूर्तिवापत सय करोड रुपैंयाँको मागसमेत गरेका छन् । नवाजुद्दीनका वकिल सुनील कुमारले मुद्धा दर्ता गरेका हुन् । मुद्दाको सुनुवाई मार्च ३० मा हुनेछ ।

मुद्दामा नवाजुद्दीनका भाई र पूर्व पत्नीलाई आफ्नो सामाजिक सञ्जालमा कुनै पनि मानहानी हुने सामाग्री प्रकाशित नगर्न चेतावनी दिइएको छ । दुवैलाई सामाजिक सञ्जालबाट अपमानजनक आरोप फिर्ता लिन पनि आग्रह गरिएको छ । नवाजले भाइ र पूर्व पत्नीलाई आफूलाई बद्नाम गरेकोमा लिखित रुपमा सार्वजनिक माफी माग्न भनेका छन् ।

नवाजले अदालतलाई आफुमाथि झुठो र दुर्भावनापूर्ण जानकारी दिने व्यक्तिको खुलासा गर्न निर्देशन माग गरेका छन् । सन् २००८ मा शमसुद्दीनले आफू बेरोजगार भएको बताएपछि नवाजुद्दीनले उनलाई आफ्नो प्रबन्धक नियुक्त गरेका थिए । शमसुद्दीनलाई अडिट, आयकर दर्ता गर्ने, जीएसटीको भुक्तान गर्ने जिम्मेवारी दिइएको थियो ।

नवाजुद्दीनले आफूलाई क्रेडिट कार्ड, डेबिट कार्ड, एटीएम, हस्ताक्षरयुक्त चेकबुक, बैंकको पासवर्ड, इमेल र सबै कुरा भाईलाई दिएपनि भाईले आफूमाथि धोका दिएर आर्थिक अपचलन गरेको आरोप लगाएका छन् । 

Logo