आजबाट देशभर ८० भन्दा बढी हलमा ‘बगान’

आजबाट देशभर ८० भन्दा बढी हलमा ‘बगान’

केन्द्रबिन्दु
0
Shares

प्रिमियरमा तारिफ पाएको चलचित्र ‘बगान’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। यो चलचित्रले देशभरका ८० भन्दा बढी हलमा १०० भन्दा बढी शो सङ्ख्या प्राप्त गरेको छ। 

अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर,आकाश श्रेष्ठ प्रमिला कार्की,नीर शाह,बसुन्धरा भुसाल र मिथिला शर्मा लगायत कलाकारहरूकाे अभिनय रहेकाे छ। निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ। अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन्।

बुधबार भएको प्रिमियरमा बगान हेर्ने अधिकांशले यसका दृश्य र संवादले भावुक बनाएको प्रतिक्रिया दिएका थिए। यो चलचित्र मात्र नभई क्रान्ति भएको र नेपाली समाजलाई परिवर्तनको बाटो देखाउने चलचित्रको रुपमा हेरिनुपर्ने प्रतिक्रिया प्राप्त भएको थियो। यो चलचित्रले देशभरनै एकल आमाहरूलाई निशुल्क चलचित्र देखाउने घोषणा गरेको थियो। यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो। ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्। यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ। ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाहको छ। हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त,सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ।

यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन हुनेछ । ’बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

Logo