टुंगियो ‘एक भगवत गीता’काे विवाद, चलचित्रकाे नाम परिवर्तन

टुंगियो ‘एक भगवत गीता’काे विवाद, चलचित्रकाे नाम परिवर्तन

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘एक भगवत गीता’को नामलाई लिएर उत्पन्न विवाद टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको छलफलमा शीर्षक परिवर्तन गर्ने सहमति जुटेसँगै विवाद सुल्झेको हो । 

सहमति पत्रमा चलचित्र निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनले हस्ताक्षर गरेका छन् ।सहमतिअनुसार चलचित्रको नाम अब ‘एक भागवत र एक गीता’ रहनेछ । 

बोर्डले आजै चलचित्रलाई सेन्सर सिफारिस दिनेछ । भदौ २९ गते प्रदर्शन तयारीमा रहेको यो चलचित्रको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएका थिए । जुन विवाद आज सुल्झेको छ । 

अन्तरजातीय प्रेमकथामा आधारित चलचित्रमा विपीन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर,राम कैलाश ठाकुर,धिरज ठाकुरको अभिनय छ। सुनील कुमार थापाको निर्माण रहेको सिनेमालाई झरना थापाले निर्देशन गरेकी छन्।

तेस्रोलिंगी चरित्रमा देखिएका विपीनले पितृसत्तात्मक सोच पाल्ने पात्रविरुद्ध विद्रोह गरेका छन्। सुहाना थापा र धीरज मगरको प्रेम सम्बन्ध र रोमान्स ट्रेलरमा समावेश छ।जनकपुरको सेटिङमा खिचिएको सिनेमामा अनुरागमान सिंह कुँवर, कविर खड्का र संजोग रसाईली खलपात्रको चरित्रमा देखिएका छन्।

Logo