सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म ‘हे दैव’ सार्वजनिक,भक्कानिए गायक राजेश पायल

सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म ‘हे दैव’ सार्वजनिक,भक्कानिए गायक राजेश पायल

केन्द्रबिन्दु
0
Shares

‘हे दैव’ शीर्षकको साङ्गीतिक फिल्म सार्वजनिक भएको छ। साङ्गीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले साङ्गीतिक फिल्म बनाएर सार्वजनिक गरेको हो। 

भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगीबाट अमेरिकाको एटलान्टा पुगेका स्व. केरुङको वास्तविक कथामा आधारित सो फिल्म सार्वजनिक कार्यक्रममा केरुङको परिवारसँग नजिक भएका गायक राजेश पायल राई 'राई इज किङ'भक्कानिएका थिए।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको कार्यक्रममा सुरेशसँगका पलहरू सम्झिँदै राईले केरुङ परिवार आफ्नै परिवार जस्तै भएको बताए। 

उनले गत वर्ष निधन भएका सुरेशको परिवारसँगको भावनात्मक सम्बन्धका कारण उनीहरू बस्ने सहर एटलान्टामा हुने सबै कार्यक्रम रद्द गरेको बताए। केरुङ परिवार भने रिलिज कार्यक्रममा उपस्थित थिएनन । परिवारको प्रतिनिधित्व पनि गायक राई किङले नै गरेका थिए।

कार्यक्रममा कलाकार कविता आलेले आफूले सुरेशलाई कहिल्यै नभेटेको भएता पनि छायाङ्कनको क्रममा आफू छेउ आएको जस्तै भान भएको बताइन्। 

कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुगेका साङ्गीतिक सङ्घ नेपालका अध्यक्ष प्राज्ञ चेतन सापकोटाले वास्तविक कथालाई साङ्गीतिक चलचित्रमा उतार्नु जोखिमपूर्ण काम भएको तर निर्देशक यसमा सफल भएको बताए।

सापकोटाले भिडियो मार्फत आफ्नो सन्तान गुमाउन पर्दा परिवारलाई परेको आघातलाई जस्ताको त्यस्तै उतारेर समाजमा ठुलो सन्देश छोडेको बताए।

यस साङ्गीतिक फिल्मको गीतमा शब्द रचना विक्रम साङ्पाङको रहेको छ भने सङ्गीत शङ्कर थापा 'स्माइल'को रहेको छ। यसमा 'राई इज किङ'अर्थात राजेश पायल , प्रविशा अधिकारी र सुनिता थेगिमको स्वर रहेको छ।

यस फिल्मलाई देव जङ्ग थापाले निर्देशन गरेका छन्। यसमा माओत्से गुरुङ, कविता आले, बुद्धि तामाङ, एलिशा राई, रजनी गुरुङ, अनिल सुब्बा, दिप्सन आङ्बो र धनु ग्याङ्मीको अभिनय रहेको छ। सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्मा हुन् भने सम्पादक विवेक उप्रेती हुन्।

 

Skip This
Skip This
Logo