यतिबेला गायक सुगम पोखरेल सामाजिक सञ्जालमा निकै चर्चामा छन् । गायक पोखरेल अष्ट्रेलियाको एडिलेडमा भएको कन्सर्टबाट चर्चामा आएका हुन् ।
शनिबार अष्ट्रेलियाको एडिलेडमा नेपाली समुदायले आयोजना गरेको कन्सर्टबाट बाहिरिएको भिडियोले यतिबेला सामाजिक सञ्जाल तताइरहेको छ भने उनले आलोचना खेपिरहेका छन् । उक्त भिडियोमा गायक पोखरेलले दर्शकलाई माइक प्रहार गरेको देखिन्छ । उनी स्टेजबाट 'दर्शकतिर हातले देखाउँदै यसलाई बोला, यो भाइलाई बोला, कालो लगाउने भाइलाई' भन्दै आक्रोशित बन्दै स्टेजबाट ओर्लिएको देखिन्छ । भिडियोमा असन्तुलित देखिएका सुगमलाई आयोजकले सम्हाल्न खोजिरहेको देखिन्छ । उनी पुनः स्टेजमा चढ्छन् र माइक फ्याँक्छन् ।
सो भिडियो भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको भिडियोलाई लिएर आलोचना गरिरहेका छन् । साथै उनले मादक प्रदार्थ सेवन गरी, दर्शकको अपमान गरेको आरोप समेत लगाइरहेका छन् । दर्शकले सुगमको बोलीमा हुटिङ पनि गरिरहेको देखिन्छ ।
भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै गायक पोखरेलले आइतबार बिहान टिकटकमा भिडियो पोस्ट गर्दै कन्सर्ट घटनाबारे बताएका छन् । 'म नेपाली हुँ । देशलाई दुख्दा मलाई पनि दुख्छ । अहिले भुइँचालोका कारण देशलाई दुखिरहेको छ । हिजोको कार्यक्रममा मौन धारण गरौं भन्दा के भयो त्यो तपाईंहरूले भिडियोमा देख्नु भएकै छ । मेरो एक्सनको रियाक्सन त्यसकै कारणले मात्र थियो । कसैको नेपाली मनलाई चित्त दुखाएँ भने क्षमा चाहन्छु । तर जहिले पनि संगीतको सेवा गर्नेछु ।' भिडियोमा सुगमले भनेका छन् । उनी अहिले अष्ट्रेलिया टुरमा छन् ।





























प्रतिक्रिया