फ्राइडे रिलिजः ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ सिनेमाघरमा

फ्राइडे रिलिजः ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ सिनेमाघरमा

केन्द्रबिन्दु
0
Shares

आजबाट नेपालमा दुई नेपाली फिल्म ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ देशभरका सिनेमाघरमा रिलिज हुँदैछन्। 

बाबुछोरीको सम्बन्धको कथा बोल्ने फिल्म ‘चित्रा’मा घनश्याम लामिछाने र प्रेमकथाको ‘पर्खि बसें तिमीलाई’मा दीपक श्रेष्ठको निर्देशन छ। घनश्याम र दीपकको यो निर्देशकीय कमव्याक फिल्म हो।

घनश्यामले यसअघि ‘धौली’ र ‘पञ्चेबाजा’ जस्ता समीक्षात्मक रुपमा राम्रा फिल्म निर्देशन गरेका थिए। घनश्यामका अनुसार ‘चित्रा’ले विशेष रुपमा बाबुछोरीको कथालाई प्रस्तुत गरेको छ। 

‘बाबुछोरीको कथासँगै अन्य कथाहरु पनि जोडिँदै जान्छन्। फिल्मले साथीत्वको कथालाई पनि प्राथमिकता दिएको छ’, उनी भन्छन्। फिल्ममा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेललगायतका कलाकारको अभिनय छ।

फिल्मका निर्माता आशिष थापा मगर र कार्यकारी निर्माता सन्तोष अधिकारी हुन् । यो फिल्म सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको हो।

त्यस्तै निर्देशक दीपकको ‘पर्खि बसें तिमीलाई’ २७ औं निर्देशकीय फिल्म हो। फिल्म ‘पर्खि बसें’बाट राजबल्लभ कोइराला र युना उप्रेतीलाई नेपाली रजतपटमा डेब्यु गराएका दीपकले ‘पर्खि बसें तिमीलाई’बाट किरण श्रेष्ठ र रक्षा बुढाथोकीजस्ता नयाँ अनुहारलाई नेपाली फिल्ममा भित्र्याउँदैछन्।

‘मेरो तीन दशकको फिल्म करियरमा दर्शकलाई प्रेमकथाका फिल्म दिएको छु। पर्खि बसें तिमीलाई पनि त्यसैको निरन्तरता हो,’ दीपक भन्छन्। रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा किरण र रक्षासँगै शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतको पनि अभिनय छ। फिल्ममा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह–निर्माण छ।

Skip This
Logo