सन् २०२४ मा पर्दामा देखिने छैनन् यी बलिउड स्टार

सन् २०२४ मा पर्दामा देखिने छैनन् यी बलिउड स्टार

केन्द्रबिन्दु
0
Shares

सन् २०२३ बलिउडका लागि जबरदस्त रह्यो । शाहरुख खान, सलमान खान, रणवीर कपुर, सनी देवल, रणवीर सिंहका फिल्मले बक्सअफिसमा सफलताको कथा लेखे । उनीहरुले केही पुराना रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाए ।

सन् २०२४ मा पनि बलिउडका केही फिल्मबाट बक्सअफिसमा सफलताको आशा छ । सन् २०२३ को झैं बक्सअफिसमा नयाँ रेकर्ड कोर्ने सम्भावित फिल्मको आँकलन सुरु भइसकेको छ । तर बलिउडका केही स्टारलाई सम्भवतः २०२४ मा दर्शकले पर्दामा हेर्न पाउने छैनन् । किनकि उनीहरुको हातमा फिल्मको लाइनअप छैन ।

शाहरुख खान

सन् २०२३ शाहरुख खानका लागि सम्झिने वर्षका रुपमा स्थापित भएको भयो । यो वर्षका उनका तीन फिल्म रिलिज भए । ‘पठान’ र ‘जवान’ले त १ हजार करोड क्लबमा आफूलाई दर्ता गराए ।

फिल्म ‘डंकी’ले राम्रो प्रदर्शन त गर्न सकेन, तर बक्सअफिसमा अझै टिकिरहेको छ । उनको नयाँ फिल्म के हुनेछ भन्ने अहिलेसम्म घोषणा गरिएको छैन । यो अवस्थामा सम्भवत शाहरुख सन् २०२४ मा कुनै पनि फिल्ममा देखिने छैनन् । उनको आगामी फिल्म ‘टाइगर भर्सेज पठान’ हो।

सलमान खान

अभिनेता सलमानको अवस्था पनि शाहरुखकै जस्तो छ । सन् २०२३ मा उनका दुई फिल्म ‘किसीका भाई किसीका जान’ र ‘टाइगर ३’ रिलिज भए। पहिलो फिल्म खासै सफल भएन। ‘टाइगर ३’ले बक्सअफिसमा औषत मात्र व्यापार गर्याे।

‘टाइगर भर्सेज पठान’का अलावा सलमानको अर्को फिल्म ‘द बुल’ हो। जसको निर्माण करण जोहारले गर्दैछन्। यो फिल्म सन् २०२५ मा मात्र रिलिज हुने बताइएको छ।

रणवीर कपूर

सन् २०२३ मा रणवीरले आफ्नो करियरकै सबैभन्दा ठूलो सफलता पाए । ‘तु झुठी मे मक्कार’ र ‘एनिमल’को बक्सअफिस सफलताले उनलाई बलिउडका सबैभन्दा भरोसायोग्य अभिनेताका रुपमा स्थापित गरायो ।

रणवीरका धेरै फिल्म अहिले घुमिरहेका छन्, जुन अगाडि रिलिज हुन्छ भन्ने टुंगो लागिसकेको छैन । रणवीरको आगामी फिल्म कुन हुनेछ भन्नेसमेत निक्यौल हुन सकेको छैन । उनी ‘एनिमल’ पछि ‘रामायण’को सुटिङ गर्नेछन् । उनीसँग ‘एनिमल पार्क’ र ‘ब्रह्मास्त्र २’ पनि पाइपलाइनमा छन् । तर यी फिल्म रिलिज हुन केही समय लाग्नेछ ।

इमरान हाशमी

‘टाइगर ३’ मा आतिश रहमान बनेर सलमानसँग द्वन्द्व गरेपछि इमरान हाशमीको आगामी प्रोजेक्टबारे नयाँ जानकारी केही बाहिर आएको छैन । तेलुगू फिल्म ‘ओजी’मा इमरानको अभिनय रहे पनि यो फिल्म कहिले रिलिज हुने भन्ने टुंगो छैन।

अभिषेक बच्चन

अभिषेकका लागि सन् २०२३ सुखद हुन सकेन । सन् २०२३ मा उनको एकैमात्र फिल्म ‘घुमर’ रिलिज भयो। यो फिल्म थिएटरमा फेल भए पनि ओटिटीमा भने पास भयो । अभिषेकको हातमा सन् २०२४ मा कुनै फिल्म वा वेब सिरिज छैन।

Skip This
Logo