ज्योति मगरले दोहोरीगीत प्रतिष्ठानमाथि हानिन् अर्को झटारो, ‘गुगलभन्दा जान्ने हुने ?’

ज्योति मगरले दोहोरीगीत प्रतिष्ठानमाथि हानिन् अर्को झटारो, ‘गुगलभन्दा जान्ने हुने ?’

केन्द्रबिन्दु
2.48k
Shares

गायिका ज्योति मगरले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालमाथि एकपछि अर्को कडा टिप्पणी गरेकी छन् । लोकदोहोरी गीतमा विकृति तथा विसंगति देखिएको भन्दै नयाँ पुस्तालाई स्पष्टीकरण सोध्ने, कारबाही गर्ने भन्दै दिएको धम्कीले केही नहुने उनकाे भनाई छ ।

‘विकृति न्युनीकरणको नाममा स्पष्टीकरण माग्छौ, कार्बाही गर्छौ, प्रशासनसम्म पुग्छौ, कानूनी कार्बाहीको माग गर्छौ भन्दै नयाँ जेनेरेसनलाई दिएको इन्डिरेक्ट धम्की र तिमीले गरेको यो लफडा आफूलाई चर्चामा ल्याउने र न्युजमा रहिरहने फण्डा बाहेक केही होइन। केही लछारपाटो लाग्दैन ।’ उनले भनेकी छन् ।

साथै उनले गुगलले नितान्त सामाजिक सञ्जालमा अपलोड र प्रसारण गर्ने अनुमति दिएको कसैको सामाग्रीलाई हटाउने आदेश दिने तिमी को हौ भन्दै प्रश्न समेत उठाएकी छन् । “श्लिल र अश्लिलता”को परिभाषा तिम्रो मनमर्जीले जे बनायो त्यो, सहि हो सहि हो भन्ने बेवकुफहरु मात्रै छैनन् नि यहाँ अलि अलि अध्यन गर्ने मान्छे हरु नि छन लोक दोहोरीको क्षेत्रमा। त्यसैले मै जान्ने मै सुन्ने दम्भबाट माथि उठ र बुझ लोक दोहोरी प्रतिष्ठान एउटा संगठन हो, संस्था हो, राज्य होइन । तिमी संस्थाको पदाधिकारी हौ तिमी प्रधानमन्त्री होइनौं, ओह ! सरि सरि प्रधानमन्त्री पनि संविधान र कानूनभन्दा माथि होइनन् ।’ उनले व्यंग्य कसेकी छन् ।

केही नयाँ तरिका अपनाएर मनोरन्जनात्मक कुराहरु तयार पारेर घर खर्च चलाएका र पेट पालेका कलाकारको आम्दानी बन्द गराएर उनीहरुको पेटमा लात हान्न नहुने पनि उनको भनाई छ । ‘न लोकगीत तिम्रो बिर्ता हो, न युट्युब तिम्रो बिर्ता हो । स्वतन्त्र देशको स्वतन्त्र नागरिकले आफ्नो मनखुसी केही काम गरेर पेट पाल्दा भत्किहाल्ने तिम्रो अनुसासन अनि परम्परा । त्यो परम्परा जोगाउने ठेकेदार तिमी ? अरे वाह !! ’

स्वतन्त्रताका नाममा हाम्रो वैदिक सनातन परम्परा, संस्कार, कला, संस्कृति मास्न उद्दत, उदण्ड भएको भन्दै त्यसलाई हटाउन कम्मर कसेको प्रतिष्ठानमाथि ज्योति मगरको एकपछि अर्को प्रहारले संगित क्षेत्र यतिबेला तरंगित छ । यसअघि पनि उनले लोकदोहोरी गीत कसैको विर्ता नभएको बताएकी थिइन् । सभ्य दोहोरीगीतको मापदण्ड खोजेकी थिइन् । यता अपाच्य शब्द राखेर दोहोरी गाउने, दोहोरीमा ‘र्याप’ र ‘ब्याटल’ मिसाउनेजस्ता कार्यले यसको मर्ममै प्रहार भएको प्रतिष्ठानको बुझाई छ । केही दिनअघि केही कलाकारले ‘अभद्र र अर्मादित’ गीत गाएको भन्दै उक्त गीतलाई सात दिनभित्र युट्युब लगायतका प्लाटफर्मबाट हटाउन समेत प्रतिष्ठानले अल्टिमेटम दिएको थियो । प्रतिष्ठानले अपाच्य गीत गाएको आरोपमा बालचन्द बराललाई त ६ महिनाको लागि निलम्बन नै गरेको छ । तर, प्रतिष्ठानको यो कदम नै विवादमा तानिएको छ । कलाकारहरु विभाजित भएका छन् ।

Skip This
Skip This
Logo