करण परियारः कार्पेट फर्निसिङका ‘डेलिभरी ब्वाय’ यसरी बने नेपाल आइडल [भिडियाेसहित]

करण परियारः कार्पेट फर्निसिङका ‘डेलिभरी ब्वाय’ यसरी बने नेपाल आइडल [भिडियाेसहित]

केन्द्रबिन्दु
140
Shares

नेपालको चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन् । जसकाे चर्चा अहिले नेपालमा मात्र हाेइन विदेशमा पनि उत्तिकै छ ।

बर्दिया जयनगरका करण बाल्यकाल देखिनै गीत गाउनमा निकै नै सिपालु थिए । विद्यालयमा उनको स्वरको अलग क्रेज नै बनेको थियो । साथीहरुले एकपछि अर्को गीत गाउन उक्साउँथे । करणमा पनि जागेको थियो गायन कला सिक्ने पाए अझै निखारिन्छु भन्ने जाँगर । तर उनी स्वरका धनी त थिए, तर गोजी रित्तै थियो । उनको सपनामा कमजोर आर्थिक अवस्था बाधक बन्यो । अनि काम खोज्दै लागे काठमाडौँतिर।

पहिलो तीन महिना बाबुसँगै काठमाडौँमा बसे । तर उनी काठमाडौँ टिक्न सकेनन्। फेरि घरतिर नै फर्किए । गायन कक्षा लिन साथमा पैसा थिएन। घरले खर्च धान्ने अवस्था थिएन। भोकै बस्नुपर्ने अवस्थामा एक साथीले तीन दिन घरमा लगेर राखे। अनि उनले काम पाए कार्पेट फर्निसिङको सामान डेलिभरी गर्ने। त्यसपछि कपनमा डेरा लिएर बसेका करणले जोरपाटीको म्युजिक सेन्टरमा अनुरोध गरेर कक्षा लिन थाले। उनै करण शनिवार राति नेपाल आइडल सिजन पाँचको विजेता बनेका हुन् ।

कार्पेट फर्निसिङको डेलिभरीको काम गर्दागर्दै चप्पलमै करण नेपाल आइडलको काठमाडौँ अडिसनमा सहभागी भएका थिए, जहाँ निर्णायकको मन जित्दै गोल्डेन माइक पाउन सफल भएका थिए ।

आइडलमा सहभागी हुँदै गर्दा पनि उनले भनेका थिए ‘यस्तो गायन बन्ने , हरेकको धड्कनमा बस्न सकियोस्।’ आइडलको मञ्चमा सङ्गी डुब्दैछु तिम्रो यादमा गाएर गोल्डेन माइक पाएका उनले थिएटर राउन्डमा गोल्डेन माइक पाएका पाँच प्रतिस्पर्धीसँग रातो र चन्द्र सूर्य गाए। पियानो राउन्डमा मलाई यो जिन्दगीले चोट दियो गनिगनी गाए । गाला राउन्डमा के लत लाग्यो मलाई गाएर निर्णायकहरुलाई मन्त्रमुग्ध पारे । त्यसपछि उनी टप १० मा पुग्दा डेन्जर जोनमा परे पनि प्रतिस्पर्धामा खरो रुपमा उत्रँदै ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछार्दै सपनाको ताज चुमे । उनलाई भोटको यसरी ओइरो लागेको थियो, मानौं की यो असारे वर्षा हो । मीठो स्वरका उनी धनी थिए नै उनको सरलपनले पनि निकै साथ दियो । अहिले सामाजिक सञ्जालमा एउटा वाक्यले निकै चर्चा पाएको छ, त्यो हो, पहिलो पटक होला नेपाल आइडलको उपाधि करणले जित्दा कोही पनि दुःखी छैनन् ।

उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे । दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप भए । उनले स्कुटर पुरस्कार प्राप्त गरे । चार महिनादेखि जारी नेपाल आइडल सिजन ५ को विजेता दर्शकको भोटको आधारमा गरिएको हो । नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा छन् । शोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गरेका थिए ।

Logo