काठमाडौँ । हिन्दु नारीहरूको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा बजारमा तीजका गीतहरू आउने क्रम बढ्दो छ । तर तीज गीतको मौलिकता र भावना हराउँदै गएको देखिन्छ ।
यस्तो अवस्थामा तीजको मौलिकता बोकेको ‘छोरी भ’र जन्मनु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली समुदायमा एक कालो परम्परा अझै गडिएको छ, छोरा नजन्मेसम्म बच्चा जन्माइरहने ।
यस्तै कथामा आधारित रहेर यो गीत बनेको छ । सातवटा छोरीमध्ये कान्छी छोरीको विवाह एक जडयाँहा केटासँग हुन्छ । ती कान्छी छोरीले विवाहपछि श्रीमान् मात्र नभएर सासू पनि निकै रुखो स्वभावकी पाउँछिन् ।
शुक्रवार बाबा ईन्टरटेनमेन्ट टिभी च्यानलबाट सार्वजनिक गरिएको तीज गीत ‘छोरी भएर जन्मिनु’ मा उक्त कथा सहितको भिडियो समावेश छ । म्याग्दीमा जन्मिएर कतारलाई कर्मथलो बनाउँदै आएका सञ्चारकर्मी तथा गीतसङ्गीत व्यवसायी तिलु शर्मा पौडेल र पर्वतमा जन्मिएर क्यानडालाई कर्मथलो बनाउँदै आएका गायक तथा सर्जक प्रवेश पौडेलले मिलेर उक्त गीतका शब्द सङ्कलन गरेका हुन् । पछिल्लो समयकी व्यस्त गायिका शान्तिश्री परियारको आवाज रहेको गीतको संगीत संयोजन याम थापामगरले गरेका छन् ।
बुहारीका रूपमा स्मारिका ढकालको केन्द्रीय भूमिका रहेको गीतको भिडियोमा अंशु थापा महर्जनले सासूको भूमिकामा अभिनय गरेकी छिन् । सन्ध्या अर्यालले जेठी छोरी (नर्स) र वर्षा लम्सालले कलेज पढ्दै गरेकी कान्छी छोरीको भूमिका निभाएकी छिन् । निर्देशक प्रवीण थापाको कथा तथा क्रोरियोग्राफीमा तयार भएको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने अमृत चापागाईँले सम्पादन गरेका छन् ।
गीतको भाग दुई बनाउने लक्ष्यसहित भिडियोको अन्त्यमा माइतीको आगनीमा नाँच्दै आफ्नो पीडा सुनाउँदै गरेकी बुहारी एक्कासि बेहोस हुँदै ढल्छिन् । सरल र आकर्षक भिडियोमा केही सस्पेन्स क्रियट गर्दै अन्त्यमा क्रमशः मा लगेर कथा तथा भिडियोको समापन गरिएको छ ।





























प्रतिक्रिया