धन कमाउन गीत संगीतमा लागेकी होइनः गायिका पूर्णिमा लामा

धन कमाउन गीत संगीतमा लागेकी होइनः गायिका पूर्णिमा लामा

केन्द्रबिन्दु
582
Shares

काठमाडौँ । डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका हुन्, पूर्णिमा लामा । नायिका जस्तै सुन्दरी यी गायिकाको स्वरमा नलट्ठीने फ्यान सायदै होलान् । गल्छी गाउँपालिका ७ मछेडीखोला, धादिङकी पूर्णिमा लामा नेपाली गीत संगीत क्षेत्रकी चर्चित गायिका हुन् ।

नेपाली गीत संगीत क्षेत्रको एक चम्किलो तारा पूर्णिमा सानै उमेरदेखि नेपाली गीत संगीत क्षेत्रमा दरिलो खम्बाको रुपमा स्थापित छिन् । गायिका लामाको आवाजमा यो वर्ष मात्रै दर्जनौं गीति संग्रह सार्वजनिक भए । जुन गीतहरुले राम्रो चर्चा बटुलिरहेका छन् ।

उनका ‘मुटु जली खरानी भो, फूल भनौं जिन्दगीलाई’ धेरै माया नगर्नु यहा कसैलाई, जस्ता चर्चित गीतहरु लाखौं दर्शक तथा श्रोताको मनमनमा बस्न सफल छन् । छोटो समयमै गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल गायिका हुन् पूर्णिमा । कसैले जीवनभर लामो समय संघर्ष गर्दा पनि सफलता हासिल गरेका हुँदैनन् । त्यस अर्थमा उनी सफल र भाग्यमानि ठान्छिन् । उनले गाएका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका चर्चित गीतहरुले युट्युबमा मिलियन भ्यूज पाएका गीतहरु हुन् । यस्तै ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ लगायत उनका थुप्रै गीत चर्चामा छन् ।

पूर्णिमाका लागि संगीत नशा हो । सबैभन्दा नजिकको साथी हो । उनका लागि संगीत सुन्दर चीज हो । कुनैपनि काम संगीतबिना अपुरो नै हुन्छ । ‘संगीत मेरा लागि कर्म, धर्म हो । सधैं अनुशासन पालना गरेर अगाडि बढ्नेछु । खान/लगाउन नपाए पनि यसैमा समर्पित हुनेछु ।’ उनी भन्छिन्, ‘गीत संगीतबाट घर बनाउँछु, पैसा कमाउँछु भन्ने छैन । तर, यसैमा समर्पित हुन मन छ ।’ उनी आफूलाई भाग्यमानि ठान्छिन् । पूर्णिमाले महत्वकांक्षा बोकेकी छैनन् । उनी गीत, संगीतमै रमाउन, जीवन बिताउन चाहन्छिन् । देश तथा बिदेशमा समेत चर्चित गायिका पूर्णिमा सांगीतिक कार्यक्रमहरुमा पनि उत्तिकै ब्यस्त छिन् । उनी हालै सांगीतिक कार्यक्रमको सिलसिलामा दुबई र बहराइन पुगेर फर्किएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट गायिका लामा एपिक संगीत रत्न सम्मानबाट सम्मानित भइसकेकी छिन् । त्यस्तै, चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा एपिक संगीत रत्न सम्मानपत्र सहित ३३ हजार ३३३ रुपैया नगद पुरस्कार प्राप्त गरेकी छिन् । उनले पाँचौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७३ सर्वोत्कृष्ट नवगायिका, पहिलो नेपाल म्युजिक अवार्ड २०७५ सर्वोत्कृष्ट नव गायिका, ११ औं बिन्दबासिनी म्युजिक अवार्ड २०७७ सर्वोत्कृष्ट गायिका सुगम संगीत, नवौं म्युजिक खबर म्युजिक अवार्ड २०७८ सर्वोत्कृष्ट गायिका सुगम संगीत लगायत दर्जनौं अवार्डहरु हात पारिसकेकी छिन् । उनले हङकङ, कोरिया, कतारलगायत दर्जनौं देशहरुमा समेत आफ्नो सांगितिक प्रस्तुती दिइसकेकी छिन् ।

Skip This
Skip This
Logo