काठमाडौँ । डी एण्ड डी इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट हरेक बिहीवार साँझ ७ बजेदेखि प्रसारणमा आउने टेलिश्रृंखला ‘हरेक पल’ ले बिहीवार प्रसारणको २५ भाग पूरा गर्दै रजत महोत्सव मनाएको छ । यसले सामाजिक विषयवस्तुका साथै चेतनामूलक विषयवस्तु चित्रण गर्दै आइरहेको हास्य कलाकार तथा यो श्रृंखलाका निर्माता राजकुमार देवकोटाले बताएका छन् ।
आफूले निमाण गरेको टेलिश्रृंखलाले २५ औँ श्रृंखलासम्म आइपुग्दा दर्शकबाट अपार माया पाएकोमा खुशी व्यक्त गर्दै निर्माता देवकोटाले आगामी दिनमा समेत दर्शकबाट साथ, समर्थन र माया पाउने आशा गरेका छन् ।
समसामयिक विषयवस्तुमा आधारित टेलिश्रृंखला ‘हरेक पल’ को निर्देशन सुरेन्द्र थापाले गरेका हुन् । यो श्रृंखलामा बेगम नेपाली, राजकुमार देवकोटा, सन्तोष न्यौपाने, सरु दाहाल, सुरेन्द्र थापा, आयुष्मा कार्की, विनोद परियार, बेगम पुन मंगा, सुदर्शन खतिवडा, मोहन लामा, सुमन पौडेल आदि कलाकारले अभिनय गरेका छन् ।
यो श्रृंखलामा बाल कलाकारहरू संस्कृति नेपाली तथा समर्पण खतिवडाले पनि अभिनय गरेका छन् । डी एण्ड डी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको यो टेलिश्रृंखलामा निर्देशक सुरेन्द्र थापाकै लेखन रहेको छ । रवीन्द्र खड्काको सम्पादन तथा कलर ग्रेडिङ रहेको यो श्रृंखलाका छायांकार ज्ञानकुमार कट्टेल हुन् ।
श्रृंखलामा सञ्जय श्रीपालको शब्द तथा संगीतमा तयार भएको गीतमा गोविन्द मधुर आचार्य तथा विना भट्टराईको स्वर सुन्न सकिन्छ । ‘हरेक पल’ का कलाकार तथा निर्माता देवकोटाले हास्य टेलिश्रृंखला ‘झुयाईँकुटी झ्याईँ’ तथा ‘हर्के हल्दार’ मा शसक्त अभिनय गर्दै आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका थिए । त्यसपछि उनी आफैँले निर्माण गरेको टेलिश्रृंखला ‘रिसानी माफ’ मा उनी हिराकाजीको भूमिका निर्वाह गरेर दर्शकमाझ स्थापित भए । अहिले उनी ‘गाह्रो छ हो’ शीर्षकको टेलिश्रृंखलामा पनि व्यस्त छन्, जसमा उनले टिकारामको भूमिका निर्वाह गरेका छन् ।
‘अभिनय र निर्माणको क्रममा हासिल गरेको अनुभवहरूका आधारमा अहिले ‘हरेक पल’ शीर्षकको टेलिश्रृंखला तयार पारिरहेका छौँ’, कलाकार तथा निर्माता देवकोटाले आफ्नो श्रृंखलाले २५ भागसम्म आइपुग्दा नै दर्शकबाट पाएको अपार मायालाई हार्दिकताका साथ ग्रहण गरेका छन् ।































प्रतिक्रिया