काठमाडौं । अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको अभिनय र लगानी रहेको फिल्म ‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजनिक भएको छ ।
बुधबार राइजिङ मल नेपालमा आयोजित एक कार्यक्रमकाबीच फिल्म ‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजनिक गरिएको हो । ३ मिनेट २६ सेकेण्डको ट्रेलरमा नक्षत्र, ग्रह र भाग्य भएका प्रेममा रहेका जोडीको सम्बन्धलाई देखाइएको छ । ट्रेलर सार्वजनिक भएको छोटो समयमै झण्डै १० लाखले हेरिसकेका छन् भने राम्रो प्रतिक्रिया पनि बटुलेकाे छ ।
चन्द्र पन्तको डेब्यु निर्देशनमा बनेको यस फिल्ममा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाका अलावा रेखा थापा, विपना, साउथ इण्डियाका कलाकार ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत र कबीर दुहनको अभिनय रहेको छ । यसैगरी प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको पनि अभिनय छ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । फिल्म कार्तिक ३० देखि देशभर रिलिज हुँदै छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री नीता ढुंगानाले दुई वर्ष लगाएर चलचित्र बनाएको र दर्शकले साथ दिने विश्वास व्यक्त गरिन् । यसअघि अभिनय मात्रै गर्ने उनले यस फिल्मबाट निर्मातामा पनि डेब्यू गरेकी छन् । नीता फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यो फिल्म नेपालीसहित तेलुगु र हिन्दी गरी तीन भाषामा प्रदर्शन हुनेछ।





























प्रतिक्रिया