काठमाडौं । जी सेभेन प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म ‘डोरी’ को शुभ मुहूर्त भएको छ । बिहीबार ललितपुरको झम्सिखेलस्थित श्री युला सरस्वती मन्दिरमा गरिएको हो ।
हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा बन्न लागेको फिल्मलाई अरुण लामाले निर्देशन गर्नेछन्। यसअघि विभिन्न लघुफिल्म र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर हुनेछ। परिवारको आर्थिक बोझ हल्का गर्न जीवनमा जोखिमपूर्ण निर्णय लिने संघर्षशिल युवाको कथामा फिल्म बन्न लागेको निमार्ता टोलीले जनाएको छ ।
फिल्ममा मुख्य भूमिकामा अभिनेता प्रवीण खतिवडा, अभिनेत्री अञ्जना बराइलीका अलावा शिशिर बाङ्देल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहालगायतको अभिनय रहनेछ । सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन्।

‘अभिनेत्री अञ्जना अभिनित फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले अहिले नेपाली बक्सअफिसमा सुनामी नै ल्याइरहेको छ । ‘महापुरुष’बाट अभिनयमा भित्रिएकी अञ्जनाले ‘पुजार सार्की’ मा समेत अभिनय गरेकी छन्। यस फिल्ममा प्रमुख भूमिका निभाउने मध्येका एक कलाकार राज पौडेलले यही फिल्ममार्फत फिल्म अभिनयमा डेब्यु गर्दैछन्।
फिल्मको सुटिङ यहि आइतबारदेखि काभ्रेको पनौती, बनेपा र काठमाडौं केन्द्रित विभिन्न स्थानमा गरिनेछ । फिल्मको कथावस्तु विशेषगरी गाउँ र शहरको मिश्रण परिवेशमा बनाइने छ । फिल्मको निर्देशक अरुण लामाले शुभमूहुर्तका क्रममा फिल्मको नाम ‘डोरी’ राख्नुको कारण र कथावस्तुका बारेमा बताएका थिए ।

यसैगरी अभिनेता प्रवीण खतिवडाले फिल्ममा गाउँले र शहरिया दुबै परिवेशको कथावस्तु भएका कारण सबैले मन पराउने आशा लिएको बताए । उनले फिल्ममा आफ्नो भूमिका सहायक रहेको पनि शुभमूहुर्तका क्रममा बताएका थिए ।
फिल्मको अभिनेत्री अञ्जना बराइलीले आफू फिल्मको कथावस्तु नयाँ र भिन्न भएको कारण आकर्षित भएको बताइन् । आफूले अहिलेसम्म गर्दै आएको फिल्म भन्दा डोरी भिन्न भएको उनको भनाई थियो ।
यसैगरी फिल्ममा डेब्यु गर्न लागेका कलाकार राज पौडेलले फिल्म डोरी सम्पूर्ण कुराको प्याकेज भएको बताए । फिल्म ‘डोरी’लाई सन् २०२५ सम्ममा सिनेमा घरमा प्रदर्शनमा ल्याइने जनाइएको छ ।





























प्रतिक्रिया