काठमाडौँ । नेपाली चलचित्र अन्तरराष्ट्रिय मेला महोत्सवमा सहभागी हुनु र पुरस्कृत हुनु नौलो खबर रहेन । गत भदौमा मीनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘शाम्बाला’ र यही फागुन २९ मा प्रदर्शन हुने दीपक रौनियारले निर्देशन गरेको चलचित्र ‘राजागञ्ज’ले अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आफूलाई अब्बल सावित गरिसकेका छन् ।
यसैक्रममा नेपाली अभिनेता टङ्क धमालाले अभिनय गर्नुभएको ब्रिटिस चलचित्र ‘कामा’ बेलायत र आयरल्याण्डमा यही फागुन २३ गतेदेखि प्रदर्शनरत छ । चलचित्रमा उनले हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट र भारतीय अभिनेत्री पूजा गुप्ताले अभिनय गरेका छन् । नेपाली चलचित्र ‘सरौतो’ मा अभिनय गरेका धमालाले अभिनय यात्रामा नयाँ अनुभव सङ्गालेको बताए।
“चलचित्र हेर्ने दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । मेरो मुख्य भूमिका रहेको चलचित्र यसरी अन्य विदेशी चलचित्र झैँ प्रदर्शन हुँदा म निकै उत्साहित छु । यो क्षणलाई मैले शब्दमा व्यक्त गर्न सकेको छैन, मेरो अभिनय यात्रामा यसले इँटा थप्ने काम गरेको छ”, उनले भने ।
ब्रिटिस चलचित्र ‘डेन्जरस गेम’ र भारतीय चलचित्र ‘एनिमल’ मा पनि अभिनय गरेका धमालाले विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्नसक्छ भन्ने कथालाई ‘कामा’मार्फत देखाउने प्रयास गरिएको बताए। उनले चलचित्रमा आर्मीको भूमिका निर्वाह गर्न त्यससम्बन्धी प्रशिक्षण समेत लिएको जानकारी दिए।
“मलाई अभिनय सिकाउनु हुने साइमन गिब्बनसँग केही समय पात्रको मनोविज्ञानबारे प्रशिक्षण लिएपछि शारीरिक रुपमा चुस्त देखिन मेहनत गरेँ । आर्मीको सोचाइ र शारीरिक हाउभाउलाई उतार्न सफल भएपछि छायाङ्कनमा पुगेको थिएँ । नेपालीपछि भारतीय र ब्रिटिस चलचित्रमा काम गर्न पाउँदा मैले उहाँहरुको कार्यशैलीलाई बुझ्ने मौका पाएँ”, धमालाले भने।
चलचित्रमा उनले निर्वाह गरेको पात्रलाई युद्धबाट फर्किएर घर आइपुग्दा श्रीमतीको मृत्युको खबर थाहा हुन्छ । त्यसपछि घट्ने घटनाक्रमले ‘क्राइम र थ्रिलर’ विधाका चलचित्र रुचाउने दर्शकलाई मनोरञ्जन दिने धमालाले बताए।
सन् २०१८ देखि मोडलिङमा सक्रिय धमालाले चलचित्र, विज्ञापन र म्युजिक भिडिओमा काम गरिरहेका छन् । विदेशी चलचित्रमा काम गर्दा थप अनुभवी बनाएको बताउँदै अभिनेता धमालाले आगामी दिनमा सङ्ख्यात्मकभन्दा पनि गुणात्मक चलचित्रमा काम गर्ने बताए।































प्रतिक्रिया