चलचित्र ‘टुल्की’को टिजर सार्वजनिक

चलचित्र ‘टुल्की’को टिजर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

बहुपति प्रथामा आधारित कथानक चलचित्र ‘टुल्की’को ‘टिजर’ तथा ‘फस्ट लुक’ पोस्टर सार्वजनिक गरिएको छ । 

‘द पाल्म ग्रुप प्रालि’द्वारा निर्माण गरिएको चलचित्र डोल्पा जिल्लाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा पुगेर छायांकन गरिएको हो।

डोल्पा, हुम्ला, मुगु, मुस्ता लगायतका हिमाली जिल्लामा कुप्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई ‘टुल्की’ मार्फत् देखाइएको निर्माता शेखर लामाले बताए । बानेश्वरस्थित वन सिनेमाजमा एक कार्यक्रमका बीच चलचित्रको टिजर तथा फस्ट लुक पोस्टर सार्वजनिक गरिएको हो। 

चलचित्रका निर्माता लामाका अनुसार नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित टुल्की नै पहिलो चलचित्र हो। 

ठूलो जोखिम मोलेर खिचिएको यस चलचित्रका लागि झन्डै चार वर्ष अनुसन्धान गरिएको पनि  निर्माता लामाले बताए। 

‘बहुपति प्रथामा घरका कुनै एक भाइले विवाह गरेपछि अन्य दाजुभाइले विवाह गर्नुपर्दैन, जुन भाइले पहिला विवाह गरे, तीनै भाइकी श्रीमतीसँग सबैले सामूहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रथा छ,’ लामाले भने। 

चलचित्र बहुपति प्रथामा मात्र सीमित नभई पश्चिम नेपालमा कुप्रथाको रूपमा व्याप्त छाउपडी प्रथालाई पनि उजागर गर्न खोजिएको निर्माण पक्षको भनाइ छ । 

चलचित्रको छायांकन  र निर्देशन देवजंग थापाले गरेका हुन् । सञ्जीव लिम्बुको संगीत रहेको चलचित्रमा तारा थापा किम्भेको सम्पादन रहेको छ। 

चलचित्रमा शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, दीर्घ लामा, महेश लिम्बू, रत्नप्रसाद न्यौपाने, भक्तसिंह कठायत लगायतका कलाकारको अभिनय रहेको छ।
 

Logo