काभ्रेको चौंरीदेउराली गाउँपालिकाद्वारा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

काभ्रेको चौंरीदेउराली गाउँपालिकाद्वारा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

केन्द्रबिन्दु
0
Shares

चौंरीदेउराली ।

जिल्लाको दुर्गम गाउँपालिका चौंरीदेउराली गाउँपालिकामा ७० वर्ष माथिका बृद्धबृद्धाहरुको आँखाको मोतियाबिन्दुको निःशुल्क अप्रेशन गर्न शुरु गरेको छ ।

बुधबारबाट वडा नं. ५ को जागृति माविमा अप्रेशनको लागि शिविर सञ्चालन गरेर निःशुल्क अप्रेशन गर्न शुरु गरेको हो ।

शिविरमा गाउँपािलका अध्यक्ष दिनानाथ गौतमले स्थानीय सरकार गाउँपालिका भित्रको जनताको हरेक समस्यामा एकाकर हुँदै आएको बताए । “आँखाको यस्तो समस्याको लागि काठमाडौँमा जान आमाबुबाहरुलाई धेरै गाह्रे हुने देखेकोले आफ्नै गाउँमा यो सेवा उपलब्ध गराएका हौँ”, उनी थप्छन्, “यसरी सेवा गर्न पाउँदा म धेरै खुशी छु ।” आगामी दिनमा पनि यो कार्यक्रम निरन्तर हुने उनले बताए ।
गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईंले जेष्ठ नागरिकहरुको साथमा स्थानीय सरकार छ भन्ने अनुभूति दिलाउन यस्तो कार्यक्रम ल्याएको बताईन् ।

अध्यक्ष त हाम्रो छोरा जस्तै

आफ्नो सफल अप्रेशनपछि वडा नं. १ का ७२ वर्षिय काजी तामाङको मुहारमा खुशी देखिन्थ्यो । आफ्नो आँखाको समस्या आएपछि कसरी उपचार गर्ने भन्नेमा दिनाहुँजसो पीर मानेर बसेका तामाङ अहिले भने गाउँपालिकाले निःशूल्क सेवा पाएकोमा खुसी व्यक्त गरे । “आफू हिड्न पनि नसक्ने भएकाले उपचारको लागि काठमाडौँ कसरी पुग्ने हो भन्ने सधैं पीर लाग्थ्यो”, उनी थप्छन्, “गाउँपालिका अध्यक्ष हाम्रो लागि भगवान नै बनेर उपचार गराए । यति सजिलै उपभार होला भनेर सोचेको पनि थिइनँ ।”

उनी जस्तै वडा नं. १ कै ७५ वर्षिय टिकामान तामाङले पनि सो शिविरमा उपचार पाएका थिए । आफ्नै गाउँमा आफूले उपचार पाएपछि गाउँपालिका अध्यक्षमा आफ्नै छोरोका रुपमा देखेको उनले बताए । उनी भन्छन्, “म बुढो मान्छे, आँखाको समस्याका कारण धेरै दुःख पाएँ । आज त्यो समस्याबाट छुटकारा पाउँदा हर्षविभोर छु ।”

२ दिनमा ६५ जनाले पाए सेवा

बुधबार र विहिबार गरी भएको शिविरमा ६५ जना बृद्धबृद्धाहरुको मोतियाविन्दुको सफल शल्यक्रिया भएको स्वास्थ्य शाखा प्रमुख तेजबहादुर घिसिङ जानकारी दिए । उनका अनुसार बुधबार २३ र बिहिबार ४२ जनाको सफल भएको थियो । शुक्रबारसम्म शिविर सञ्चालन हुने घिसिङले बताए ।

उक्त शिविरमा अप्रेशनको लागि ग्रामीण स्वास्थ्य तथा शिक्षा केन्द्र, गोकर्ण काठमाडौँको प्राविधिक टोलीले सहयोग रहेको छ ।

Logo