झापा कुष्ठरोगको उच्च जोखिममा

झापा कुष्ठरोगको उच्च जोखिममा

केन्द्रबिन्दु
0
Shares

झापा कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ।

झापामा गत वर्ष १२१ जना कुष्ठरोगी पहिचान भएर उपचाररत रहेकोमा यस आर्थिक वर्षको छ महिनामा नै यही सङ्ख्यामा थप नयाँ कुष्ठरोगीहरूको पहिचान भएको हो। ७०औँ कुष्ठरोग दिवसको अवसरमा दमकस्थित आम्दा अस्पतालमा भएको प्रदेशस्तरीय समन्वय बैठक एवं अभिमुखीकरण कार्यक्रममा जानकारी दिइएअनुसार पूर्वी नेपालमा कुष्ठरोगको उच्च जोखिम छ। कुष्ठरोगसम्बन्धी प्रदेश १ का फोकल प्रतिनिधि तुलसीप्रसाद गुरागाईंका अनुसार कुष्ठरोगसम्बन्धी सचेतना र विभिन्न कार्यक्रमहरूका कारण रोगको पहिचान हुने क्रम बढेकाले सङ्ख्या पनि बढेको हो।

प्रदेश १ मा आर्थिक वर्ष २०७८र७९ मा पत्ता लागेका नयाँ बिरामीको सङ्ख्या ३४६ छ। १४ वर्षमुनिका बालबालिकामा पनि कुष्ठरोग देखिएको छ। तिम्सिनाका अनुसार १४ वर्षमुनिका चार जना बालबालिकामा कुष्ठरोग देखिएको छ। नयाँ बिरामीहरूमध्ये असमर्थताको दोस्रो चरणमा प्रवेश गरेका बिरामीको सङ्ख्या ३० रहेको पाइएको छ। कुष्ठरोग लागेमा १५२ महिला रहेका छन्। महिला र बालबालिकामा कुष्ठरोगको दर बढ्नु झनै नराम्रो सङ्केत भएको पनि बताइएको छ। आम्दा अस्पतालका प्रमुख डा. प्रकाश शर्माले कुष्ठरोग लागेकालाई अहिले पनि समाजमा विभेद हुने गरेको सुनिने गरेको बताउँदै उनीहरूलाई सद्भावसहितको आवश्यक परामर्श र उपचार दिन आफूहरू लागिपर्ने बताए ।

छाला रोग विशेषज्ञ डा. दिपायन पाण्डेले कुष्ठरोगको पहिचान गर्न धेरै समस्या नरहेको बताउँदै पछिल्लो समयमा स्वास्थ्य केन्द्रहरूले समेत सही रूपमा विवरण राख्ने र पहिचान गर्ने गरेको पाइएको बताए । दमक नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले दमक अस्पतालमा कुष्ठरोग लागेका बिरामीका लागि निःशुल्क परामर्शसहितका सेवाहरू रहेको जानकारी दिए । 

Logo