‘ग्यास्ट्रिक बिग्रिए क्यान्सर पनि हुन सक्छ’

‘ग्यास्ट्रिक बिग्रिए क्यान्सर पनि हुन सक्छ’


सामान्यतया मानिसहरु पेट दुख्ने बित्तिकै ग्यास्ट्रिक भयो भनेको सुनिन्छ । अधिकांश नेपालीमा ग्यास्ट्रिकको समस्या हुन्छ । खराब खानपान र अस्वस्थ्य जीवन यापनका कारण ग्यास्ट्रिक हुने चिकित्सकको भनाइ छ । 

पहिला ४० वर्ष माथिको उमेरमा देखिने ग्यास्ट्रिक अहिले जुनसुकै उमेरका मानिसमा देखिन थालेको छ । ग्यास्ट्रिकलाई धेरैले सामान्य रोगको रुपमा लिन्छन् । समयमै उपचार गरिएन भने ग्यास्ट्रिक बढेर अल्सर हुँदै क्यान्सरमा परिवर्तन हुन सक्छ । साथै ग्यास्ट्रिक बिग्रिएमा कब्जियत र पायल्स पनि हुनसक्छ । त्यसकारण यसलाई सामान्य रोगको रुपमा लिन नहुने चिकित्सकहरुको भनाइ छ । 

ग्यास्ट्रिक के कारणले हुन्छ ?
पेट दुख्ने बित्तिकै ग्यास्ट्रिक नै भएको हो भन्न नसकिने पेट रोग विशेषज्ञ डाक्टर दीपक राज पाण्डेले बताएका छन् । उनका अनुसार हजारौँ कारणले पेट दुख्छ । पेटको माथिल्लो भागमा इन्फेक्सन हुनुलाई ग्यास्ट्रिक भनिन्छ । शरीरमा एच पाइलोरी भन्ने ब्याक्टेरिया हुन्छ । यदि हामीले खानपानमा उचित समय र व्यवस्थापन मिलाउन नसक्ने हो भने त्यो सक्रिय हुन्छ र त्यसले ग्यास्ट्रिकदेखि अल्सरसम्म गराउन सक्छ । जसका कारण आन्द्रामा प्वाल पनि पार्न सक्छ ।

मानिसको दैनिक जीवनशैली र अस्वस्थकर जीवनयापनले ग्यास्ट्रिकको समस्या देखिन थालेको डा. पाण्डले बताएका छन् । उनका अनुसार कुन समयमा खाना नखाने, लामो समयसम्म खालीे पेट बस्ने, धेरै तनाव लिने, चिल्लो, पिरो, भुटेको, तारेको र मसालेदार खाना अत्यधिक खाने र विभिन्न रोगको औषधी सेवन गर्नुभन्दा अगाडि ग्यासको औषधी नखाँदा पनि ग्यास्ट्रिक हुन्छ । बुफ्रिन, पेनकिलर जस्ता दुखाई कम गर्ने औषधीको प्रयोगबाट पनि ग्यास्ट्रिकको समस्या आउँछ । 

ग्यास्ट्रिकको दुई अवस्था हुने डा. पाण्डे बताउँछन् । “हल्का पेट पोल्ने, बिहान उठ्ने बित्तिकै बान्ता आउने, खाना नरुच्ने र नपच्ने, पेट खराब भइरहने, दिसा बिग्रिएर आउने, अलिकति खाना खाए पनि पेट फुलिहाल्ने, छाती पोल्ने, गनाउने डकार आउनुको साथै मुखबाट अमिलो पानी आउने, ढ्याउ–ढ्याउ आउने र पेट कराउने हुन्छ भने यो पहिलो अवस्था हो”, उनले भने, “दोस्रो अवस्थालाई एसिड पेप्टिक डिजिज अर्थात् एडिफ भनिन्छ । यो अवस्थामा पुगेको ग्यास्ट्रिकले आन्द्रामा भएको रसायन असन्तुलित हुनेदेखि लिएर पेटमा अल्सर बनाएर आन्द्रा प्वाल पर्ने समेत हुनसक्छ ।”

लक्षणको आधारमा घरमा बसेर औषधी खानुभन्दा अस्पताल गएर चिकित्सकसँग परामर्श लिन डा. पाण्डे सुझाव दिन्छन् । ग्यास्ट्रिकको औषधि खाँदा त्यसले धेरै असर त गर्दैन तर शरीरमा अरू रोग रहन सक्ने खतरा हुने डा. पाण्डे बताउँछन् । 

ग्यास्ट्रिक हुनै नदिन के गर्ने ?

ग्यास्ट्रिक हुन नदिन सर्वप्रथम हाम्रो दैनिक जीवन यापनलाई परिवर्तन गर्नुपर्ने डा. पाण्डेले सुझाब दिएका छन् । उनी भन्छन्, “ग्यास्ट्रिक हुनै नदिन समयमा खाने, समयमा सुत्ने, समयमा उठ्ने, दैनिक कसरत गर्ने, जाड रक्सी सुर्तिजन्य पदार्थ, कार्बोनेटेड पेय पदार्थ, पोलेको मासु र दुखाई कम गर्ने औषधीको सेवन गर्नु हुँदैन । साथै, बेलुका हल्का खाना खाने र खाना खाएको २ देखि ३ घण्टा पछाडि मात्र सुत्नु पर्छ । जसले मुटु पोल्ने, मुखमा अमिलो पानी आउने समस्यालाई कम गर्दछ । पानी प्रशस्त मात्रामा पिउनु पर्दछ र दैनिक योग गर्नुपर्छ । यस्तो गर्दा ७० प्रतिशत थाहा नभएको ग्यास्ट्रिकका कारण पनि कम हुँदै जान्छन र ग्यास्ट्रिकको समस्या हुँदैन् ।” 

यस्तै, ग्यास्ट्रिकको कुनै पनि लक्षण देखिएमा तत्काल डाक्टरसँग परामर्श लिनुपर्ने उनी बताउँछन् । 

ग्यास्ट्रिकबाट बच्ने उपाय

समयमा खाना खाने
ग्यास्ट्रिक भएमा सकेसम्म प्रत्येक दुई–दुई घन्टाको फरकमा खाना खाने गर्नु पर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर ग्यास्ट्रिक बिगार्छ र यसले अन्य रोग पनि निम्त्याउन सक्छ । 

प्रशस्त पानी पिउने
प्रशस्त पानी पिउँदा ग्यास्ट्रिकबाट बच्न सकिन्छ । पर्याप्त पानीले पेटमा ग्यास भरिन पाउँदैन । 

दुध नपिउने
दुध पिउनु शरीरका लागि लाभदायक भएतापनि ग्यास्ट्रिक हुने व्यक्तिले दुध पिउनु हुँदैन् । ग्यास्ट्रिकले गर्दा पाचन प्रक्रिया कमजोर हुने भएकोले दुध तथा दुधजन्य खानेकुरा पचाउन निकै कठिन हुन्छ । तर, दही तथा दुधबाट बनेका अन्य हल्का परिकारहरु भने खाँदा हुन्छ ।

चिल्लो तथा पिरो नखाने
धेरै तेल प्रयोग भएको र तेलमा तारेको खाना खानु हुँदैन् । साथै, खानामाधेरै पिरो राखेर खानु हुँदैन् । यदि धेरै चिल्लो र पिरो खाना खाएमा ग्याष्ट्रिक हुने व्यक्तिलाई झन समस्यामा पार्छ । 

मद्यपान र धुम्रपान नगर्ने
ग्यास्ट्रिकमा जाँड, रक्सी, चुरोट, खैनी तथा अन्य सुर्तिजन्य पदार्थको सेवन गरेमा नराम्रो असर गर्छ । त्यसैले यस्तो बानी छ भने अनिवार्य छोड्नुपर्छ ।

चिया, कफी नपिउने
कफी, कडा चिया, दूध चिया, क्याफिन जस्ता पेय प्रदार्थ सेवन गर्नाले ग्यास्ट्रिकलाई असर गर्छ । साथै, कार्वन मिसिएका कोल्ड ड्रिंक्स जस्तै कोक, फ्यान्टा, स्प्राइट, डिउ, पेप्सी सेवन गर्नु हुँदैन । 

जंक फुड नखाने
अजिनामोटो मिसाएको खाना र मैदा प्रयोग भएका फाष्ट फुडहरू सकेसम्म खानु हुँदैन् ।

चिकित्सकको सल्लाह बिना औषधी सेवन नगर्ने
चिकित्सकको परामर्श बिना दुखाई कम गर्ने तथा अन्य औषधीलिनु हुँदैन् ।सकेसम्म पेनकिलरको पनि प्रयोग गर्नुहुँदैन् । पेन किलरले केही समयका लागि राहत दिएतापनि दीर्घकालीन रुपमा यसले ठूलो समस्या निम्त्याउँछ । ग्यास्ट्रिकको समस्या बढ्दै गयो भने डाक्टरसँग परामर्श गरेर मात्र औषधी प्रयोग गर्नुपर्छ ।

तनाव नलिने
ग्यास्ट्रिक तनावपूर्ण जीवन जिउने, डर, चिन्ता, खिन्नता, उदासीनता र अनिद्रामाबस्ने व्यक्तिहरुलाई हुने रोग हो । त्यसैले यस्ता अस्वस्थ्यकर जीवनयापन शैलीलाई परिवर्तन गर्नुपर्छ । 

व्यायाम गर्ने
दैनिक रुपमा व्यायाम तथा पसिना आउने गरी हिँडडुल गर्नाले खाएको खाना राम्ररी पच्छ र ग्यास्ट्रिकबाट बच्न सकिने डा.पाण्डे बताउँछन् ।

Logo