जुम्लामा भएको स्वास्थ्य शिविरबाट ३०० बढी महिला लाभान्वित

जुम्लामा भएको स्वास्थ्य शिविरबाट ३०० बढी महिला लाभान्वित


जुम्लाको सिञ्जा गाउँपालिकाका ३ वटा स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ३२७ महिला लाभान्वित भएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँग समन्वय गरी पालिकाको स्वास्थ्य शाखाले शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । पालिकाभित्रका स्वास्थ्य संस्थाबाट शिविर सञ्चालन गरिएको बताउँदै अध्यक्ष धितालले भने, ‘नराकोट स्वास्थ्य चौकीमा १०१, धाँपा स्वास्थ्य चौकीमा ७६ र सनिगाउँ स्वास्थ्य चौकीमा १५० गरी जम्मा ३२७ जना एकैदिन शिविरबाट लाभान्वित भएका छन् ।’

सो स्वास्थ्य शिविरबाट ४ महिलालाई पाठेघरको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरिएको छ । ५७ महिलालाई पाठेघर खस्न नदिन रिङप्रेसर राखिएको छ । पाठेघर खस्ने, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने र ढाड दुख्ने लगायतका समस्याको स्वास्थ्य शिविरमा जाँच गरिएको सिञ्जा गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रकाश धितालले बताए । 

चेतना अभिवृद्धि, कार्यबोझ न्यूनीकरण तथा स्वास्थ्य सुरक्षामा स्वयं महिलाले ख्याल गर्ने र परिवारका सदस्यले साथ दिएको खण्डमा पाठेघर खस्ने समस्याबाट मुक्त हुने कर्णाली प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा. सुबि बस्नेतले जानकारी दिइन् । स्वास्थ्य शिविरबाट लाभान्वित सबै ग्रामीण भेगका महिला गाउँमै पाठेघरको जाँच साथै उपचार गराउन पाउँदा निकै खुशी भएको यहाँका महिला बताउँछन् ।

Logo