छ पटक म्याद थप्दा पनि स्वास्थ्य चौकी अधुरै

छ पटक म्याद थप्दा पनि स्वास्थ्य चौकी अधुरै

केन्द्रबिन्दु
0
Shares

खोटाङको साकेला गाउँपालिका-५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्य चौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। निर्माण थालेको आठ वर्ष बित्दा पनि भवन अधुरै छ।

विसं २०७४ कात्तिक २० भित्र सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो। यसबीचमा निर्माणका लागि छ पटक म्याद थपिएको छ। रु दुई करोड १६ लाखको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो।

भवन निर्माण गर्न २०७५ वैशाख, २०७५ माघ, २०७७ असार, २०७७ पुस, २०७८ चैत र २०७९ पुसमा म्याद थपिएको वडाध्यक्ष जीवन न्यौपानेले जानकारी दिए। ‘पछिल्लो पटक म्याद नथपिएपछि भवन निर्माणको टुङ्गो लागेको छैन’, उनले भने। हालसम्मको काम पनि गुणस्तरीय नभएको उनको आरोप छ। ‘भवनको भित्री भागको धेरै काम बाँकी नै छ। झ्यालको सिसा, भित्री भागको रङ रोगन, शौचालय तथा स्नान गृहमा धारा, टायल बिछ्याउनेलगायत काम बाँकी छ’,न्यौपानेले भने।

निर्माणाधीन अवस्थामै रहेको स्वास्थ्य चौकी भवनको सिलिङबाट पानी चुहिने गरेको छ। गुणस्तरहीन कामका बारेमा निर्माण कम्पनीलाई जानकारी गराइएको छ। निर्माण कम्पनीको लापरबाहीले निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम बेलामा नसक्दा उपचार सेवा प्रवाहमा समस्या भएको छ।

स्वास्थ्य चौकीबाट दिइने सेवा पुरानो गाविस भवनमा र बर्थिङ सेन्टरको सेवा स्थानीय महिला सशक्तीकरण समूहको भवनबाट सञ्चालित छ । ठेक्का लिने निर्माण कम्पनीले सुजन भट्टलाई पेटी ठेक्का दिएको, भट्टले पनि स्थानीय सन्तोष राईलाई काम लगाएको र उनीहरूबीच लेनदेनको विषय नमिलेकाले यो समस्या आएको स्थानीयको भनाइ छ।

ठेकेदारबीचको किचलोका कारण निर्माण कम्पनीले कामदारको पैसासमेत नदिएकाले निर्माण ठप्प बनेको हो। ठेकेदार कम्पनीले तोकिएको समयमा भवनको काम सम्पन्न नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाइएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका प्रमुख डा युवराज पौडेलले बताए।

Logo