हर्क साम्पाङकाे सहर धरान बन्यो डेंगीको हब, के छन् सुरक्षाका प्रबन्धहरु ?

हर्क साम्पाङकाे सहर धरान बन्यो डेंगीको हब, के छन् सुरक्षाका प्रबन्धहरु ?


कोशी प्रदेशका अधिकांश जिल्लामा डेंगी रोग फैलिएको छ, जहाँ सुनसरीको धरान उपमहानगरपालिका सबैभन्दा बढी मारमा परेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोसी प्रदेशका १४ मध्ये ११ जिल्लामा डेंगीका बिरामी फेला परेका छन् । तर, सुनसरीमा भने यो संख्या सबैभन्दा धेरै छ । 

सुनसरीमा हालसम्म २२० जनामा डेंगी पुष्टि भइसकेको छ भने परीक्षण दर बढ्दै जाँदा यो संख्या अझ थपिने स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमण बढ्दै गएपछि अहिले सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप पनि अधिक हुँदै गएको छ । 

धरान उपमहानगरको जनस्वास्थ्य महाशाखाका अनुसार वडा नं. ११, १५ र १७ मा अधिक संक्रमण फैलिएको छ ।

विशेषगरी धरान क्षेत्रमा पिउने पानीको अभावका कारण धेरै मानिसले खुला रुपमा भाँडा तथा ट्यांकीमा पानी भण्डारण गर्दा रोग थप फैलिन पुगेको बताइएको छ ।   
विगतजस्तै प्रकोपकै रूपमा डेंगीको फैलन सुरु भएपछि धरानमा विशेष सतर्कता र उपचारको अलग्गै प्रबन्ध गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगीका बिरामीको उपचार गर्न छुट्टै डेंगी क्लिनिक सुरु गरेको छ । 

असार २९ गतेदेखि प्रतिष्ठानको जी.ओ.पी.डी. भवन अगाडि डेंगी क्लिनिक संचालन गरिएको छ । क्लिनिकमा प्रतिष्ठानले छुट्टै चिकित्सक, नर्स, पारामेडिक्सलगायत जनशक्तिको व्यवस्थापन गरेको छ । यसैगरी धरान उपमहानगरले डेंगी परीक्षण किट, टेन्ट र कुर्सीको व्यवस्था गरेको छ ।

प्रतिष्ठानमा परीक्षण गर्न पुगेका मध्ये ८० प्रतिशतमा डेंगी पुष्टि हुने गरेको छ, जहाँ जटिल किसिमका बिरामीलाई प्रतिष्ठानमा भर्ना गरेर उपचार गर्ने व्यवस्था गरिएको छ ।

बिरामीको संख्या बढ्न थालेसँगै बीपी प्रतिष्ठानले परीक्षण किट अभाव हुनसक्ने भएकाले संघीय र प्रदेश सरकारसँग थप किट माग गरेको छ भने डेंगी संक्रमण कम गर्न महाशाखा तथा अन्य संघसंस्थाको पहलमा जनचेतना फैलाउने कार्यसमेत सुरु भएको छ ।  

त्यस्तै पछिल्लो तथ्यांक हर्ने हो भने कोसी  प्रदेशका विभिन्न ११ जिल्लामा ३१२ जनामा डेंगी रोग पुष्टि भएको छ । जहाँ मोरङमा २५ र झापामा २४ जनामा पुष्टि भएको छ । 

साउनको पहिलो सातामात्र पहाडी जिल्ला तेह्रथुम, भोजपुर र खोटाङमा समेत डेंगी संक्रमित फेला परेका छन् । त्यस्तै हिमाली जिल्ला ताप्लेजुङमा पनि एकजनामा रोग पुष्टि भऐको  छ । तर सोलुखुम्बु, उदयपुर र पाँचथरमा भने बिरामी भेटिएका छैनन् । डेंगीको लक्षण भनेको सामान्य अवस्थामा आउनेभन्दा पनि निकै तीव्र ज्वरो आउनु,  खानाको स्वाद थाहा नपाउनु, एकनासले टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुलगायत डेंगीका लक्षणहरु हुन् । 

Logo