मानसिक अस्पताल लगनखेल र युनिटी इन हेल्थ नेपालबीच साझेदारी

मानसिक अस्पताल लगनखेल र युनिटी इन हेल्थ नेपालबीच साझेदारी


मानसिक अस्पताल लगनखेलले ललितपुरस्थित एनजीओ युनिटी इन हेल्थ नेपालसँगको साझेदारीमा मानसिक स्वास्थ्य क्षमता अभिवृद्धिको काम सुरु गरेको छ । 

साे सहकार्य अनुसार अस्पतालका नर्सिङ स्टाफ, स्वास्थ्य सहायकहरू, र अन्य कर्मचारीहरूका लागि प्रशिक्षण दिने तथा अन्य विभिन्न कार्यक्रम गर्ने लक्ष्य राखिएको छ । ५० शैया क्षमता भएको अस्पताल गम्भीर मानसिक स्वास्थ्य अवस्था भएका व्यक्तिहरूलाई हेरचाह प्रदान गर्नमा केन्द्रित छ ।

जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस क्षेत्रमा आफ्नो नवीन दृष्टिकोणको लागि चिनिने यूनिटी इन हेल्थले विभिन्न प्रशिक्षण दिनेछ । सो क्रममा मानसिक स्वास्थ्य सेवा सीपहरू, जस्तै जोखिम मूल्याङ्कन, हेरचाह योजना, चिकित्सीय उपचार प्रविधिहरू, सुरक्षा आदीमा ध्यान दिँदै क्षमता बढाउन सहयोग गर्नेछन् ।’ 

यस परियोजनाप्रति आफ्नो उत्साह व्यक्त गर्दै मानसिक अस्पताल लगनखेलका निर्देशक डा. अनन्त पी अधिकारीले भने, ‘यो कार्यक्रम हामीले प्रदान गर्ने हेरचाहको स्तर माथि उठाउने हाम्रो प्रतिबद्धताको प्रमाण हो। युनिटी इन हेल्थमा हाम्रा प्रयासहरू मर्ज गरेर, हामीले नेपालभर मानसिक स्वास्थ्य सेवाहरू सुधार गर्ने खाका स्थापना गर्ने लक्ष्य राखेका छौं।’

यो तीन वर्षको परियोजनाले मानसिक स्वास्थ्यको क्षेत्रमा महत्वूर्ण योगदान गर्ने लक्ष्य राखिएको छ । मानसिक अस्पताल लगनखेललाई ललितपुरभित्र मात्रै नभई सिंगो राष्ट्रलाई मानसिक स्वास्थ्य सेवाको मापदण्डमा परिणत गर्ने मुख्य लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ । 

साे अवसरमा युनिटी इन हेल्थका कार्यकारी निर्देशक लुभाना श्रेष्ठले सधैं मानसिक स्वास्थ्य समस्याहरूसँग जुधिरहेकाहरूको जीवनमा महत्वपूर्ण सुधार ल्याउने आफ्नो लक्ष्य रहेको बताइन् । उनले भनिन्, ‘मानसिक अस्पताल लगनखेलसँगको सहकार्य हाम्रो मूल्यमान्यतासँग पूर्णरूपमा मेल खान्छ र हामीसँगै मिलेर अर्थपूर्ण परिवर्तन ल्याउन सक्छौँ भन्नेमा विश्वस्त छौं ।’ 

नेपालको विकट र पिछडिएको क्षेबमा रहेका मानसिक रोगी तथा अन्य समस्या भोगिरहेका नेपालीहरुलाई लक्षित गरी युनिटी हेल्थ इन नेपालले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । स्वास्थ्य सेवाबाट बञ्चित भएकाहरुमा स्वास्थ्यको पहुँच पुर्‍याउन नै संस्थाको लक्ष्य रहेको श्रेष्ठ बताइन् ।

Logo