नेपालमा मानसिक स्वास्थ्यको अवस्था विकराल छः डा. देवकोटा

नेपालमा मानसिक स्वास्थ्यको अवस्था विकराल छः डा. देवकोटा


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले देशमा मानसिक स्वास्थ्यको अवस्था जटिल बन्दै गएको र महिलाको तुलनामा पुरुष मानसिक रोगको बढी सिकार भएको बताएका छन् । 

मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा आयोजित कार्यक्रममा डा. देवकोटाले देशमा नसर्ने रोग र मानसिक समस्या दुई दशकको तुलनामा १० प्रतिशत देखि ८० प्रतिशतसम्म वृद्धि भएको बताएका हुन् । 

उनले भने,‘मानसिक स्वास्थ्य र नसर्ने रोगहरु गत दुई दशकको तुलनामा १० प्रतिशत देखि ८० प्रतिशतसम्म वृद्धि भएको पाइन्छ । मानसिक स्वास्थ्यको वर्तमान अवस्था हेर्ने हो भने वर्षभरीमा करिव ७ हजारको मृत्यु आत्महत्याबाट हुने गरेको पाइन्छ । १० प्रतिशत मानिसहरुमा केही न केही रुपमा मानसिक समस्या रहेको तथ्यांक छ । १३ देखि १७ वर्षका ५दशमलव २ प्रतिशत किसोर किसोरीहरुमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ । मातृ मृत्युदर हुने १७ जना आमामध्ये १ जनाले आत्महत्या गर्नुहुन्छ । गत एक दशकको तथ्यांक हेर्दा आत्महत्या गर्नेको संख्या ४५ सयबाट बढेर करिव ७ हजारको नजिक छ । देश धेरै नै मानसिक स्वास्थ्यको समस्यामा रहेको स्थिति छ ।’

डा. देवकोटाले आत्महत्या गर्नेको दरलाई तथ्यांकमा केलाउँदा किसोर किसोरीमध्ये आत्महत्या गर्नेमा किसोरीको संख्या धेरै रहेको र समग्रमा भने आत्महत्या गर्नेमा पुरुषको संख्या धेरै रहेको बताए । 

प्रदेशगत तथ्यांकलाई उल्लेख गर्दै उनले भने, ‘किसोर किसोरीको अवस्था हेर्दा आत्महत्या गर्नेमा किसोरीको संख्या धेरै रहेको तथ्यांक छ । तर, समग्रमा हेर्दा पुरुषको दर धेरै देखिन्छ । प्रदेशगत रुपमा हेर्दा आत्महत्या गर्ने दरमा धेरै संख्या बागमती प्रदेश,कोशी र लुम्बिनीमा छ, यसको स्थिति विकराल छ ।’

उनले नेपालमा मानसिक स्वास्थ्यको उपचारको अवस्था हेर्दा १० जना विरामी मध्ये ८ जनाले मात्रै पर्याप्य स्वाथ्य उपचार पाउने गरेको सरकारको तथ्यांक रहेको बताए   । सामान्य व्यक्तिको तुलनामा मानसिक स्वास्थ्यका विरामीको निधन १० देखि १५ वर्ष छिट्टै हुने गरेको उनले उल्लेख गरे । 

डा. देवकोटाले सरकारकारले नसर्ने रोगको रोकथाम र उपचारको लागि बहुक्षेत्रीय कार्ययोजना तयार पारेको र चारवटा रणनीतिक क्षेत्र बनाएर ८२ वटा प्रमुख क्रियाकलाप गरेको जानकारी दिए । 

अस्वभाविक बढ्दो वैदेशिक रोजगारी,धेरै महत्वकांक्षी हुनु, अनौपचारीक क्षेत्रमा व्यवसाय गर्नु, सामाजिक सञ्जालको सहि उपयोग नगर्नु, बढ्दो दिर्घ रोग, मध्यपान र धुम्रपानको बढी प्रयोग, समयअनुसार सार्वजनिक स्वास्थय संस्थाको स्थितिमा सुधार गर्न नसक्नु जस्ता विविध कारणले नेपालमा मानसिक रोगका विरामी बढ्दै गएको सरकारको धारणा छ । 

Logo