हातपातको विरोधमा पाटन अस्पतालका चिकित्सक आन्दोलित, आकस्मिकबाहेक सेवा बन्द

हातपातको विरोधमा पाटन अस्पतालका चिकित्सक आन्दोलित, आकस्मिकबाहेक सेवा बन्द


ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा कार्यरत चिकित्सकहरु आन्दोलित भएका छन् । अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण भएको भन्दै त्यसको विरोधमा उनीहरु आन्दोलित भएका हुन् ।  

अस्पतालका चिकित्सक डा. विदुर तिवारीले हातपात गर्ने व्यक्ति पक्राउ नभएसम्म आकस्मिक सेवाबाहेक ओपिडी सेवा बन्द गर्ने निर्णय संघर्ष समितिले गरेको बताए । 

उनले अस्पतालमा कुनै गल्ती भए छानबिन गर्ने र कारबाही गर्ने निकायहरु भएको भन्दै हातपात गर्नु राम्रो नभएको बताए । उनले भने, ‘आकस्मिक सेवाबाहेक ओपिडी सेवा बन्द गरिएको छ । जबसम्म हातपात गर्ने व्यक्ति पक्राउ पर्दैनन् तबसम्म बन्द गर्ने निर्णय भएको छ । के भएर बिरामीको मृत्यु भयो, त्यसको छानबिन गर्नुपर्ने थियो, त्यसको लागि निकाय थियो । प्रयोग भएको औषधि कस्तो गुणस्तरको थियो, त्यो प्रशासनले हेर्ने हो । छानबिनतर्फ नगइ डाक्टरमाथि नै हातपात गर्नु राम्रो होइन ।’

उनले यस्तो संवेदनशील क्षेत्रमा आएर कसैले पनि हातपात गर्न नहुने भन्दै यसका विरुद्धमा जाहेरी दर्ता गरेको पनि बताए । उनले भने, ‘अस्पतालमा दुईजनाको मृत्यु भएको थियो । त्यसपछि बिरामीका परिवार अक्रोसित भएर आक्रमण गर्ने काम भयो, मेरो विचारमा त्यस्तो भएपछि न्याय माग गर्नका लागि धेरै स्थानहरु छन् । कसैले पनि हातपात गर्नु राम्रो होइन ।’

कात्तिक १८ गते साँझ ज्येष्ठ नागरिक वार्डमा बिरामीको मृत्यु भएको विषयलाई लिएर दुई चिकित्सकमाथि आक्रमण भएको थियो । दुईजना ज्येष्ठ नागरिकलाई स्वास्थ्यकर्मीले सुईमार्फत् औषधि दिएपछि तत्काल बिरामीको मृत्यु भएको मृतकका आफन्तको आरोप छ ।

Logo