‘एचआईभी संक्रमितले उपचारपछि स्वस्थ जीवन बिताउन सक्छन्’

‘एचआईभी संक्रमितले उपचारपछि स्वस्थ जीवन बिताउन सक्छन्’


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले एचआईभी संक्रमितले पनि अन्य रोगमा जस्तै औषधि उपचार गरी स्वस्थ जीवन बिताउन सक्ने बताएकी छन् ।

आज मन्त्रालयद्वारा ३६औं विश्व एड्स दिवस २०८० को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । सन् २०२६ सम्ममा अनुमानित एचआईभी संक्रमणमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, पुष्टि भएकामध्ये ९५ प्रतिशतको उपचार गर्ने र तीमध्ये ९५ प्रतिशतमा भाइरल, लोड, सम्प्रेषण हासिल गर्ने मुख्य उद्देश्य राखी काम भइरहेको उनले बताइन् ।

एचआईभी संक्रमितले पनिअन्य रोग जस्तै औषधीउपचार गरी स्वस्थ जीवन बिताउन सक्ने खालको जनचेतना प्रवाह गर्न व्यापक रुपमा प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिइन् ।

२०२६ सम्ममा नयाँ एचआईभी संक्रमणलाई ९० प्रतिशतले कम गर्ने र आमाबाट बच्चामा एचआईभीको संक्रमण उन्मूलन गर्ने कार्यमा प्राथमिकतामका साथ काम गर्न पर्नेछ भन्दै सचिव गुरागाईंले भनिन्, ‘यसका लागि राष्ट्रिय एचआईभी रणनीतिक योजनाअनुसार २०३० सम्ममा नेपालमा एचआईभीलाई कम गर्ने भिजनसहित, पहुँचयोग्य सेवा सुनिश्चित गर्दै एचआईभी उपचारलाई निरन्तरता दिनुपर्ने छ ।’

नेपालमा हरेक दिन एकजनामा एचआईभी संक्रमण हुने गरेको तथ्यांक छ । २०२२ मा ४ सय ८८ व्यक्तिहरुमा एचआईभीको नयाँ संक्रमण भएको अनुमान गरिएको छ । २००० को तुलनामा ९० प्रतिशतले घटेको छ । सन् २००० मा ५ हजार ८७ व्यक्तिहरूमा नयाँ संक्रमण अनुमान गरिएको थियो ।

सन् २०१० को तुलनामा यो ७७ प्रतिशतले कम हो । सन् २०२२ मा मात्रै ३ सय ४४ व्यक्तिहरूको एड्सको कारणले मृत्यु भएको अनुमान छ । यो २०१० को तुलनामा ८० प्रतिशतले कम हो । २०१० मा १ हजार ६ सय व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान छ । 

सन् २०२२ को अन्त्यसम्म नेपालमा ३० हजार व्यक्तिहरूमाएचआईभी संक्रमण भएको अनुमान छ । वयस्क जनसंख्याको ०.११ प्रतिशत संक्रमण छ । २०२२ मा ५२ बच्चाहरूमा (०–१४ वर्ष) नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुन सन् २०१० को तुलनामा ७७ प्रतिशतले घटेको छ । २०१० मा २२७ जना बच्चाहरूमा नयाँ संक्रमण भएको अनुमान थियो ।

२०२२ को (२०७९ मंसीर) अन्त्य सम्ममा नेपालमा २३ हजार २ सय ९३ संक्रमितहरूले एन्टीरेट्रोभाईरल उपचार लिइरहेका छन् र अनुमानित कुल एचआईभी संक्रमितमध्ये ७८ प्रतिशतमात्र एआरभी उपचारमा रहेका छन् ।
 
नेपालमा पनि सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य हासिल गर्न ९५ः९५ः९५ र एचआईभीको जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआईभीतथा एड्स सम्बन्धी कार्यक्रमहरू सञ्चालन भइरहेको छ । 

२०२२ मा नेपालमा एक करोड ५९ लाख अमेरिकी डलर राष्ट्रिय एचआईभी कार्यक्रमका लागि खर्च भएको थियो । कुल खर्चमा नेपाल सरकारको लगानी १९ प्रतिशत थियो ।

Logo