टेकुको जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको मान्यता

टेकुको जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको मान्यता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ) ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आइएसओ १५१८९ः २०१२’ को प्रमाणपत्र प्रदान गरेको हो ।

नेपालस्थित सङ्गठनका प्रतिनिधि डा सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा रुना झालाई मंगलबार आयोजित कार्यक्रममा उक्त प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । प्रयोगशालाबाट एकपटक परीक्षण भएपछि त्यसले अन्तर्राष्ट्रियस्तर मान्यता पाउने गर्छ । यसअघि अन्तर्राष्ट्रिय मापदण्डको मान्यता पाउने चारवटा निजी क्षेत्रका प्रयोगशाला रहेका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को लडाइँ लडिरहेका बेला सरकारी प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउनु खुशीको कुरा भएको बताए । उनले पहिले दैनिक सय मात्र गरिने कोभिड–१९ को परीक्षणलाई हजारको सङ्ख्यामा प्रयोगशालाले पुर्याएको समेत बताए ।

मन्त्री ढकालले कोभिड–१९ बाट मुलुक आक्रान्त नभएको भए यतिबेला स्वास्थ्य सेवामा सुधार आएको अनुभूति नागरिकलाई दिलाउने सकिने बताए । उनले अहिले मन्त्रालयले विशिष्ट श्रेणीका कर्मचारीका सरुवा सहमतिकै आधारमा गरिएकाले अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरे ।

प्रमाणपत्र बुझ्दै प्रयोगशालाकी निर्देशक डा झाले प्रयोगशालाका कर्मचारीको अथक प्रयासले अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको बताइन् । उनले पाँच वर्षदेखि नै प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कोशिस गरे तापनि औपचारिकरुपमा एक वर्ष अघिदेखि काम गरिएको उल्लेख गरिन् ।

“अन्तर्राष्ट्रिय मान्यता पाएसँगै अब हाम्रो सेवा पनि गुणस्तरीय, विश्वसनीय रहेको छ”, उनले भनिन्, “अब हामीले कुनै पनि नमूना परीक्षण गर्नका लागि बाहिर पठाउनु पर्दैन ।” उनका अनुसार प्रयोगशालाले उक्त मान्यता पाउनका लागि सयभन्दा बढी प्रमाण आइएसओलाई बुझाउनु परेको समेत बताइन् ।

प्रमाणपत्र दिनु भन्दा अगाडि भारत, दुवई र न्यूजिल्याण्डबाट आएका विज्ञहरुको टोलीले प्रयोगशालामा भएका विविध कुराको अध्ययन अनुसन्धान गरेका थिए । गुणस्तर तथा तालिम शाखा प्रमुख लिली श्रेष्ठले गत साउनदेखि मान्यता पाउनका लागि आफूहरुले प्रक्रिया शुरु गरेको बताइन् ।रासस

Logo