सिन्धुपाल्चोककी मृतक महिलाका आफन्तको स्वाब सङ्कलन, धुलिखेल अस्पतालमा उच्च सतर्कता

सिन्धुपाल्चोककी मृतक महिलाका आफन्तको स्वाब सङ्कलन, धुलिखेल अस्पतालमा उच्च सतर्कता

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

धुलिखेल अस्पतालमा मृत्यु भएकी एक सुत्केरी महिलाको शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरसको सङ्क्रमण भए/नभएको परीक्षण गर्न आज दिउँसो स्वाब सङ्कलन गरिएको र उनीहरूलाई अस्पतालको क्वारेन्टाइनमा राखिएको छ ।

गत बिहीबार राति ९ः३० बजे उपचारार्थ धुलिखेल अस्पताल पुर्याइएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको केही समयपछि नै मृत्यु भएको थियो । मृतकका परिवारका सदस्यले नै ती महिलाको श्वासप्रश्वासमा देखिएको लक्षण अनुसार कोरोना भाइरस सङ्क्रमणको शङ्का गरेर धुलिखेल अस्पताल पुर्याएका थिए ।

अस्पतालका प्रवक्ता एवं प्रसूतिरोग विशेषज्ञ डा सुमनराज ताम्राकारले १० दिनकी ती सुत्केरी महिलाको मृत्यु भएपछि हिजो नै थप परीक्षणका लागि स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको बताए ।

डा ताम्राकारले ती महिलाको बाह्रबिसेस्थित अस्पतालमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको र धुलिखेल अस्पतालमा शुक्रबार पोलिमरेज चेञ्ज रियाक्सन (पिसीआर) परीक्षणमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि काठमाडौँ पठाइएको जानकारी दिए । आज स्वास्थ्य मन्त्रालयले पनि मृतक महिलाको स्वास्थ्यका विषयमा थप विवरण सङ्कलन गरिरहेकाले कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि भइनसेकको जनाएको छ ।

धुलिखेल अस्पतालका अनुसार बिहीबार राति ९ः३० बजे अस्पताल ल्याइपुर्याउँदा नै ती महिलाको अवस्था निकै गम्भीर थियो र ट्युब राखेर भेन्टिलेट गर्दा पनि सुधार आएको थिएन । महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा पारामेडिक ललगायत गार्डसमेतको स्वाब सङ्कलन गरी उनीहरूलाई पनि अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । मृतक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि शुक्रबारदेखि नै अस्पतालमा उच्च सतर्कता अपनाइएको अस्पतालले जनाएको छ ।

मृतकका परिवारले गत वैशाख २३ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा महिला सुत्केरी भएकी र २४ गते अस्पतालबाट घर पठाइएको केही दिनपछि स्वासप्रस्वासमा समस्या देखिन थालेको बताएका थिए । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले मृतक महिलाको थप परीक्षणको रिपोर्ट आएपछि अस्पताल लगायत जिल्लामा थप सतर्कता अपनाउनेबारे निर्णय गरिने जानकारी दिए ।रासस

Skip This
Skip This
Logo