दुई गाउँमा हात्तीपाइले परीक्षण हुँदै

दुई गाउँमा हात्तीपाइले परीक्षण हुँदै

केन्द्रबिन्दु
0
Shares

पर्वत ।

हात्तीपाइले रोगको वर्तमान अवस्था पत्ता लगाउन दुई गाउँमा परीक्षण गरिने भएको छ । कुश्मा नगरपालिका–१ पाङ र फलेवास नगरपालिका–५ खानीगाउँमा समुदायमा हात्तीपाइले रोगको अवस्था पत्ता लगाउन परीक्षण गरिने भएको हो ।

कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडाले पाङ र खानीगाउँमा हात्तीपाइले रोगको सङ्क्रमण रहेको तीन पटक गरिएको परीक्षणबाट पत्ता लागेको थियो । दुई स्थानमा हात्तीपाइले रोगका बिरामी रहेकाले जिल्लाभर ११औँ चरणसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको छ ।

अहिलेको अवस्था पत्ता लगाउने उद्देश्यले दुई गाउँमा ६०० जनाको रगत परीक्षण गर्न थालिएको हो । कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडाले स्थानीय तह र स्वास्थ्य कार्यालय पर्वतको समन्वयमा समुदायमा परीक्षण गर्न थालेको जनाएको छ ।

केन्द्रका प्राविधिक सरोज अधिकारीले पर्वत जिल्लामा हात्तीपाइले रोग निवारण गर्ने हेतुले समुदायमा परीक्षण गर्ने र १२औँ चरणमा औषधि पनि खुवाउने कार्यक्रम सञ्चालन हुने जानकारी दिए । उनले देशभरि हात्तीपाइले रोग निवारणका लागि गर्दै आएका कार्य र पर्वतको अवस्थाका बारेमा जानकारी दिए ।

उनले पाङमा ३०० जना र खानीगाउँमा ३०० जनाको रगत परीक्षण गरेपछि जिल्लामा अर्को चरणमा औषधि खुवाउनुपर्छ वा पर्दैन भन्ने यकिन हुने बताए । यसअघि पर्वतमा तीन पटकसम्म समुदायमा हात्तीपाइले रोगको अवस्था पत्ता लगाउन परीक्षण गरिएको थियो ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले पर्वत जिल्ला मानव विकास सूचाकाङ्कमा ११औँ स्थानमा रहे पनि हात्तीपाइले रोगबाट मुक्त हुन नसक्नु आफैँमा दुखद् पक्ष रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत पङ्गेनीले समुदायमा व्यापकरुपमा परीक्षण गर्ने अभियान पनि सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए ।

जनस्वास्थ्य कार्यालयका प्रमुख डा भोजराज गौतम, पर्वत अस्पतालका प्रमुख डा शिशिर देवकोटा, कुश्मा नगरपालिका–११ का वडाध्यक्ष शिवप्रसाद पौडेल हात्तीपाइलेको निवारणका लागि सबै क्षेत्रमा जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

Logo