काठमाडौँ महानगरका ४६४ जनाको र्‍यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ महानगरका ४६४ जनाको र्‍यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौँ महानगरले विदेशबाट फर्किएर महानगरमा वसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको र्‍यापिड डाइनोस्टिक टेस्टलाई तिव्रता दिएको छ । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कमा पुगेको जानकारीसँगै सुरुमा महानगरको वडा नम्बर–५ का ३९ जनाको र्‍यापिड टेस्ट गराएको थियो ।

दोस्रो दिन वडा–४ मा ५१ जनाको टेष्ट गरेको महानगरले शुक्रबारसम्म ८ वटा वडाका ४ सय ३ जना गरि आजसम्म ४ सय ६४ जनाको टेष्ट गरेको छ । महानगर सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यका अनुसार आज भित्री शहरमा १८, १९, २०, २१, २२, २३, २४, २९ गरी ८ वटा वडाका ७८ जनाको टेष्ट गरिएको छ । बसन्तपुर डवलीमा सामाजिक दूरी कायम गरी टेष्ट गरिएको थियो ।

आज गरिएको टेष्टमा ७८ जनाकै रिपोर्ट नेगेटिभ आएको बज्राचार्यले जानकारी दिए । उनले वडा–१२, १३ र १४ को टेष्ट भोलि (आइतबार) गर्ने बताएका छन । त्यसैगरी शुक्रबार एकै ठाउँमा ९, १०, ३१, ३२ वडाको टेष्ट गरिएको थियो । जहाँ २ सय ४८ जनाको टेष्ट भएको थियो । त्यस्तै वडा–१५ का ४८ जनाको पनि टेष्ट हिजै भइसकेको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ०७६ फागुन १८ गतेपछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका, कोरोना लक्षणको शंका लागेका लगायतका व्यक्तिहरुको संक्रमणको अवस्था पत्ता लगाउन ३२ वटै वडामा यस प्रकारको परीक्षणलाई तिव्रता दिएको जानकारी दिए । उनले विदेशबाट फर्किएकाहरुको तथ्याङ्क संकलन गरिरहेको पनि जानकारी दिए ।

आज वसन्तपुर डवलीमा गरिएको र्‍यापिड डाइनोस्टिक टेस्टको अवलोकन गर्न संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, प्रदेश सांसदहरु डाक्टर अजयक्रान्ति शाक्य, राजेश शाक्य, उपमेयर हरिप्रभा खड्गी सम्बन्धित वडाका अध्यक्ष समेत पूगेका थियो ।

सांसद जीवनराम श्रेष्ठले कोरोना रोकथाम र नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्नु पर्नेमा जोड दिंदै अहिले सबैभन्दा पहिलो दायित्व भनेको मान्छेलाई बचाउने रहेको भन्दै जहाँ–जहाँबाट सकिन्छ त्यहिँ–त्यहिंको बजेट परिचालन गरेर भए पनि कोरोनाविरुद्धको अभियानमा जुट्नु पर्ने बताए । ‘सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको छ, यो सकारात्मक छ,’ उनले भने, ‘महानगर भित्र पनि यो रोगको नियन्त्रण र संक्रमणबाट महानगरवासीलाई बचाउनका लागि महानगरले सक्रिय रुपमा लागेको छ । यो पनि सकारात्मक छ । ‘अहिले हामीले पहिलो प्राथमिकता विदेशबाट आएर महानगरभित्र बसोवास गर्ने र उहाँहरुका सम्पर्कमा आएकालाई दिएका छौँ,’ उनले भने, ‘कोरोना संक्रमणको आशंकामा रहेकाले पनि म कोरोना मुक्त छु भनेर ढुक्क हुने प्रमाणपत्र प्राप्त गरोस् भनेर यो टेष्ट गरिरहेका छौँ ।

Skip This
Skip This
Logo