बागलुङका ५०३ जनामा देखिएन कोरोना

बागलुङका ५०३ जनामा देखिएन कोरोना

केन्द्रबिन्दु
0
Shares

बागलुङ।

जिल्लाका ५०३ शङ्कास्पद व्यक्तिमा कोभिड–१९ को द्रुत जाँच (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) गर्दा रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ को जोखिमयुक्त जिल्लामा परेको बागलुङमा बिहीबारदेखि द्रुत जाँच शुरु गरिएको थियो । बिहीबार १२, शुक्रबार ९४ र शनिबार ३९७ जनामा कोरोना जाँच गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख सुरज गुरौका अनुसार हालसम्म गरिएका सबै जाँचको रिपोर्ट नेगेटिभ छ । शनिबार बागलुङ नगरपालिकाका ७७, बडिगाड गाउँपालिकाका ११४, निसीखोला गाउँपालिकाका ११५ र ढोरपाटन नगरपालिकाका ७७ जनामा कोरोना जाँच गरिएको थियो । जाँच गरिएका सबै विदेशबाट आएका व्यक्ति हुन् ।

स्वास्थ्य मन्त्रालयले तोके बमोजिम सङ्क्रमित व्यक्तिको बसोबास क्षेत्र, भौतिक सम्पर्क भएका व्यक्ति र विदेशबाट आएका सबैमा कोरोनाको द्रुत जाँच हुनेछ । सोमबारसम्ममा जिल्लाका १० स्थानीय तहका गरी कूल ९७१ शङ्कास्पद व्यक्तिमा कोरोना जाँच गरिने प्रमुख गुरौले जानकारी दिए। “हामीले तयारी गरेभन्दा जाँचको सङ्ख्या केही थप हुनसक्ने देखिएको छ”, उनले भने, “जाँच गरिएका कूल सङ्ख्या मध्ये १० प्रतिशतको स्वाबसमेत सङ्कलन गरी कोरोना परीक्षण गरिनेछ ।”

बागलुङ नगरपालिकामा कूल १९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिकामा ८६, निसीखोला गाउँपालिकामा १०३, काठेखोला गाउँपालिकामा ५६, बडिगाड गाउँपालिकामा १६१, गलकोट नगरपालिकामा १२८ र ताराखोला गाउँपालिकामा ३३ जनामा कोरोनाको द्रुत जाँच हुनेछ ।

यसअघि स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बिहीबार बागलुङका स्वास्थ्य प्राविधिकलाई द्रुत जाँच सम्बन्धी प्रयोगात्मक अभिमुखीकरण प्रदान गरेको थियो । सरकारले दुई सङ्क्रमित भेटिएसँगै बागलुङलाई कोभिड–१९ को जोखिमयुक्त जिल्ला किटान गरी द्रुत जाँच गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसबाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवती र वडा नं ३ की ६५ वर्षीया महिला अहिले धौलागिरि अञ्चल अस्पतालमा उपचाररत छन् ।

दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । युवतीमा चैत १५ गते र महिलामा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दुवै बेल्जियमबाट दोहा हुँदै कतार एयरको विमानबाट चैत ४ गते नेपाल आएका थिए ।

यसैबीच, ६५ वर्षीया महिलामा गरिएको कोरोनाको दोस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जनाएको छ । यसअघि १९ वर्षीया युवतीमा गरिएको दोस्रो परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आएको थियो । लगातार दुईपटक कोरानाको नेगेटिभ रिपोर्ट आएपछि मात्र बिरामीलाई अस्पतालबाट घर पठाइने चिकित्सकले बताएका छन् ।रासस

Skip This
Skip This
Logo