बुटवल । बुटवलमा शङ्कास्पद कोरोना सङ्क्रमित बाबुराम थापाको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । वैदेशिक रोजगारीमा रहेका बाबुराम थापा केही दिन अगाडि मात्र दुबईबाट नेपाल फर्किएका थिए । नेपाल आएपछि उनमा उच्च ज्वरो र फ्लुको समस्या देखिएपछि उनी अस्पताल गएका थिए । डाक्टरले कोरोनाको शङ्का लागेर उनलाई धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिरहेका थिए । उनको स्वाव कोरोना हो या होइन भनेर निर्क्योल गर्न काठमाडौँ पठाइएको थियो । रिपोर्ट आइपुग्नु अघि नै उनको मृत्यु भएको थियो ।
कोरोनाको कहरसँगै पहिलो पटक शङ्कास्पद बिरामीको मृत्यु भएको समाचार पढेर सिङ्गै देश स्तब्ध भएको थियो । अहिले बाबुराम थापाका परिवारका सदस्यहरू सोचिरहेका छन् कतै उपचारमा भएको लापरबाहीको कारणले बाबुरामले आफ्नो जीवन गुमाउनु त परेको थिएन ? बाबुरामका आफन्तको मनमा उब्जिएको शङ्का र यो प्रश्न कति जायज हुन सक्छ ?
मृतक थापाकी श्रीमती रिता थापाले डाक्टरहरुको लापरबाहीकै कारण श्रीमानको मृत्यु भएको बताइन् । उनका अनुसार अहिले शव लुम्बिनी अस्पतालमा राखिएको छ र डाक्टरहरु र अस्पतालले शव लैजान नमिल्ने बताएका छन् । रिपोर्टमा कोरोना नभएपछि मेरो श्रीमानको शव मैले किन लैजान नमिल्ने ? उनले प्रश्न गरिन् । यतिबेला आफन्त र उनका परिवारले बाबुरामको मृत्यु डाक्टरकै लापरबाहीका कारण भएको भन्दै उचित क्षतिपूर्तिको समेत माग गरिरहेका छन् ।
सङ्घीय सरकारले देशभर एक लाख तिस हजार क्वारेन्टाइनसँगै हरेक प्रदेश सरकारलाई आफ्ना अस्पतालमा आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिए लगत्तै प्रदेश नम्बर पाँच सरकारले पनि निश्चित अस्पतालहरूमा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको समाचारहरू आएका थिए ।
प्रदेश नं ५ सरकारको पहलमा बुटवलमा मात्र मेडिसिटी अस्पतालमा ६ बेड, मार्सीसिटि अस्पतालमा २ बेड, सिद्दबाबा अस्पतालमा ५ बेड, तिनाउ अस्पतालमा ८ बेड गरेर तत्कालको लागि आवस्यक आइसोलेसन बेड थपिएको जनाइएको थियो । त्यस लगत्तै बाबुराम थापा बिमारी परे । उनी अस्पताल पुगे । ट्राभल हिस्ट्री हेर्दा उनमा कोरोना लागेको हुन सक्ने अनुमान डाक्टरले गरे तर उनको उपचार सरकारले थपेका निजी अस्पतालका आइसोलेसन बेडमा राखेर गरिएन ।
आखिर सरकारले बेड थपेको भनिएका अस्पतालमा उपचार नगरेर उनलाई मानव बस्तीबाट केही पर रहेको औद्योगिक क्षेत्र भित्रको धागो कारखानाको फिनिसिङ हलमा बनाइएको कोरोना विशेष अस्पतालको रुममा राखेर उपचार किन गरियो ? थापाका परिवारले यो प्रश्नको जवाफ खोजिरहेका छन् ।
उपचार सुरु गरेको चौथो दिन थापाको मृत्यु भयो । त्यो मृत्यु माथि उनका आफन्तले अहिले प्रश्न उठाइरहेका छन् । बाबुराम थापाले उपचार मात्र होइन बिमारी भएको समयमा पानी समेत खान नपाएर उनको मृत्यु भएको आशङ्का आफन्तले गर्नु स्वाभाविक पनि हुन जान्छ ।
एक त परीक्षणको नतिजा नै नआउँदै आफन्तको मृत्यु हुनु, परीक्षणको नतिजा नेगेटिभ आउनु र आफ्नो परिवारको सदस्य गुमाउनुको पीडाबाट गुज्रिरहेको थापा परिवारले उपचारमा लापरबाही त भएन अथवा आफ्नो बिमारीको पानी समेत पिउन नपाएर मृत्यु भएको त थिएन कतै भनेर प्रश्न उठाउनु स्वाभाविक पनि हो ।
धागो कारखानामा बनाइएको अस्पतालको बारेमा जानकारी दिँदै ‘विकास जङ्ग बस्नेत’ भन्ने नेकपाका स्थानीय नेताले फेसबुकमा पोस्ट गरेको जानकारी अनुसार त्यो ठाउँमा चौबिसै घण्टा बिरामीको अवस्थालाई निगरानी गर्न सिसिटिभी समेत जडान गरिएको थियो (उनले सिसिटिभीको तश्विर समेत पोस्ट गरेका थिए)।
बिरामीको क्रियाकलाप बाहिरैबाट हेर्ने व्यवस्था समेत मिलाइएको अस्पतालमा डाक्टरले बिरामीको अवस्था हेरे नहेरेको सजिलै पत्ता लगाउन सकिन्छ । अहिले बाबुरामका परिवारले आफूहरूले त्यो फुटेज हेर्न पाउनु पर्ने माग गरिरहेका छन् तर अस्पताल प्रशासनले त्यो उपलब्ध गराएको छैन ।
कोरोना परीक्षणको रिजल्ट नेगेटिभ आइसक्दा समेत स्थानीय डाक्टरहरू त्यो मान्न तयार छैनन् । रिजल्ट नेगेटिभ आए पनि लक्षण अनुसार उनमा कोरोना थियो भन्ने प्रस्ट छ भनिरहेका डाक्टरले रिपोर्ट आउनु पूर्व उनको उपचार कसरी गरेका थिए ? यो हेर्न पाउनु मृतकका आफन्तको अधिकारको कुरा हो कि होइन सामाजिक चासोको विषय बनेको छ।





























प्रतिक्रिया