कोरोनाविरुद्ध महानगरले छर्किन थाल्यो कीटनाशक औषधि

कोरोनाविरुद्ध महानगरले छर्किन थाल्यो कीटनाशक औषधि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
लकडाउन अवधिमा अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेको काठमाडौँ महानगरले आजबाट महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ को संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए।

‘काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने वीरअस्पताल, भित्री सहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, कालीमाटी तरकारी बजार लगायतका स्थानमा आजबाट कीटनाशक औषधी छर्कने कार्यको सुरुवात भएको छ,’ प्रमुख शाक्यले भने, ‘सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, बुमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिन्छौँ ।’

महानगरले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन वटा ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किने भएको छ। प्रमुख शाक्यले सकेसम्म महानगरवासीलाई खाद्यान्नको समस्या हुन नदिन स्थानीय प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने समेत बताएका छन् ।

‘यो विश्वव्यापी संक्रमणको बेला हो । त्यसैले सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्छ, ‘कोही भोको पर्दैन, कोही भोकले मर्दैन’ भन्ने राज्यले अघि सारेको अभियानलाई समेत आत्मसाथ गर्दै आफूहरु निरन्तर लागिरहेको उनको भनाइ छ । प्रमुख शाक्यले त्यस्तो कुनै पनि समस्या आए तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गर्दै जुनसुकै समयमा पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने बताए ।

Skip This
Skip This
Logo