काठमाडौं ।
यदि महिला स्वस्थ छन् भने परिवार तथा समुदायमा उनले धेरै भूमिका निर्वाह गर्न सक्ने र सबैसँग सुमधुर सम्बन्ध राख्न सक्छिन् । यदि महिला स्वस्थ छैनन् भने, उनको जीवनका सबै पक्षहरूमा असर पुर्याइरहेको हुन्छ । महिला र पुरुषमा फरक प्रजनन अंग हुन्छ । महिलाबीच भएका आधारभूत असमानताहरूले गर्दा महिलाहरूलाई रोग लाग्न सक्ने र स्वास्थ्य कमजोर हुने खतरा बढी हुन्छ ।
महिनावारी भन्दा पहिला सामान्यतः दुवैलाई लाग्ने रोगका प्रकृति एउटै हुन्छन् । तर जब महिलाको महिनावारी हुने समय हुन्छ, तब उसमा मानसिक परिवर्तन आउन थाल्छ । सामान्यतयाः १० देखि १८ वर्षको उमेरमा महिलामा धेरै समस्या आउन सक्छ । महिनावारीको समयमा धेरैलाई हुने समस्या भनेको रक्तश्राव बढी हुने र महिनावारी गडबढी हुनु हो ।
अहिले ९ वर्षमै पनि महिनावारी हुन थालेको छ । योसँग सम्बन्धित समस्याहरू पनि छन् । कसैको धेरै रगत जाने हुन्छ, जसले गर्दा रक्तअल्पता हुन्छ । यो बेलामा खाना पर्याप्त नखाँदा रक्तअल्पता देखिने हुन्छ ।
सानो उमेरमा महिनावारी भएका केटीहरुले एउटै प्याड धेरै समय प्रयोग गरिराख्दा संक्रमण हुने खतरा बढी हुन्छ । यस्तो संक्रमणहरुलाई बेवास्ता गर्दा थप समस्या हुने गर्छ । यसले भोलिको दिनमा बच्चा नबस्ने समस्या समेत हुन सक्छ । यस्तै महिलाहरुमा बाँझोपना हुने समस्या पनि बढीरहेको छ । जसले गर्दा महिलालाई उमेर अनुसारको रोग बुढेसकालसम्म नै लाग्ने गर्छ । जसमा धेरै गर्भवती, महिनावारीसँग सम्बन्धित रोगहरू छन् ।
महिलाहरूको स्वास्थ्यमा असर पुर्याउने समस्याहरू :
प्रजनन स्वास्थ्य समस्याहरू
जब महिलाको शारीरिक सम्पर्क सुरु हुन्छ तब महिलाको शारीरिक बनोटका कारणले गर्दा उनलाई यौन संक्रमण तथा एचआइभी एड्स लाग्ने जोखिम पुरुषलाई भन्दा केही बढी नै हुने गर्छ । पुरुषको वीर्य महिलाको योनीभित्र पस्छ र वीर्यमा रहेका किटाणुहरू योनीको पातलो भित्ताबाट सोसिएर रगतमा पुग्छन् । यसरी महिलाहरु यौन संक्रमणबाट बढी प्रभावित हुने सम्भावना हुन्छ ।
महिलामा संक्रमणका चिह्नहरू प्रायजसो नदेखिने भएकाले समयमै उपचार पनि पाउन सक्दैनन् । तर यो समस्या महिलाको शारीरिक बनावटसँग मात्रै गाँसिएको छैन, वास्तवमा यस्ता समस्या हाम्रो सामाजिक अवस्थासँग बढी गाँसिएको छ । महिलाहरू धेरैजसो अवस्थामा यौनसम्पर्क राख्ने नराख्ने कुराको निर्णय गर्न र असुरक्षित यौनसम्पर्कलाई अस्वीकार गर्न पाउँदैनन् । परिणामस्वरुप विश्वमा बर्सेनि १ करोड ७० लाख महिलालाई यौन संक्रमण हुने गर्छ । जसले गर्दा प्रजनन अङ्गहरूका कडा संक्रमण रोगहरू बाँझोपन, गर्भावस्थाका समस्याहरू तथा पाठेघरको क्यान्सर, योनीको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर हुने बढी खतरा हुन्छ ।
विश्वका धेरै भागमा ३३ देखि ५० प्रतिशत युवतीहरू २० वर्ष नपुग्दै बच्चा जन्माउने गर्छन् । परिवार नियोजनका साधन अपनाउन नसक्दा बर्सेनि बच्चा जन्माउने महिलाहरू सुत्केरीबाट राम्ररी तङ्रिन पनि पाउँदैनन् । यसले गर्दा महिलाहरूको स्वास्थ्य कमजोर हुने र गर्भावस्था तथा बच्चा जन्माउँदा जोखिममा पर्ने गर्छन् ।
गर्भावस्था सम्बन्धी समस्याका कारणले नै विश्वमा हरेक एक मिनटमा एउटी महिलाको ज्यान जाने गरेको छ । जसमा विश्वका गरिब देशहरूका २५ प्रतिशत महिलाहरू गर्भावस्था र बच्चा जन्माउँन नसक्दा मरिरहेका छन् ।
यस्तै असुरक्षित गर्भपतन र परिवार नियोजनको साधनको प्रयोगमा लापरबाहीले पनि महिलाको स्वास्थ्यमा विभिन्न जटिलताहरू देखा पर्छ । असुरक्षित यौन सम्पर्कको कारणले असुरक्षित गर्भपतन रोकिएको छैन । महिलाहरुमा महिनावारी सुरु भएदेखि सुक्ने समयसम्ममा पनि स्वास्थ्यमा असर देखिन्छ । जसमा पाठेघरमा ट्युमर पलाउनेदेखि लिएर ओभरीको क्यान्सर हुने जोखिम बढी हुन्छ ।
न्यूनपोषण
न्यूनपोषण गरिब मुलुकका महिलाहरूमा सर्वत्र पाइने तथा कमजोर गराउने स्वास्थ्य समस्या हो । महिनावारी भएको बेला, गर्भ रहेको बेला र स्तनपान गराउने बेलामा राम्रो खान्कीको आवश्यकता हुन्छ । त्यस्ता आवश्यक पोषण हुन नसके महिलाको स्वास्थ्यमा जटिल समस्या हुन्छ । पर्याप्त पौष्टिक आहारा नपाउँदा महिलाको स्वास्थ्य कमजोर हुन्छ । यसरी कुपोषित महिला गर्भवती भई भने बच्चा जन्माउँदा अत्यधिक रक्तस्राव हुने, संक्रमण हुने वा बच्चा सानो जन्मने जस्ता गम्भिर जटिलताहरू उत्पन्न हुन्छ ।
कामको बोझबाट उत्पन्न समस्या
धेरै महिलाहरूको घरबाहिर काम गर्ने स्थान असुरक्षित भएका कारणले पनि उनीहरुमा स्वास्थ्य समस्या हुने गर्दछ । साथै बाहिरको काम गरेर फर्केपछि पनि उनीहरू आफ्नो नियमित घरधन्दा गर्छन् । यसरी उनीहरूले दोब्बरभन्दा बढी काम गर्नुपर्छ । यसले गर्दा उनीहरू बढी थाक्छन् र बिरामी हुने खतरा धेरै हुन्छ । घरमै बसेर काम गर्ने गृहिणीहरुलाई पनि कामको धेरै नै दवाब हुने गर्छ यसले पनि महिलाको स्वास्थ्यमा असर पुर्याइरहेको हुन्छ ।
उत्पीडन र हिंसा
हाम्रो देशमा महिलामाथि हुने उत्पीडनलाई प्रायः स्वास्थ्य समस्याका रूपमा हेरिंदैन तर उत्पीडनको परिणामले महिलालाई गम्भीररूपको मानसिक स्वास्थ्य समस्या उब्जाउने, शारीरिक दुर्बलता हुने र कहिलेकाहीं मृत्युसमेत हुने हुन्छ । जस्तै कैयौं युवतीहरू यौनशोषणको शिकार हुन्छन् । कैयौं महिलाहरू आफन्त र साथीभाईबाट तथा श्रीमानबाटै पनि यौन तथा शारीरिक दुव्र्यवहार भएका हुन्छन् । जसले गर्दा महिलाहरूलाई बलात्कार तथा यौन दुव्र्यवहार हुन सक्ने त्रास सधैं नै भइरहन्छ । यस्ताखाले उत्पीडन र हिंसाले प्रायजसो महिलाको स्वास्थ्यमा समस्या उत्पन्न गराउँछ ।
मानसिक समस्याहरू
महिला तथा पुरुष दुवैलाई मानसिक स्वास्थ्य समस्याहरू हुन सक्ने सम्भावना रहन्छ तर मानसिक बेचैनीले पुरुषलाई भन्दा महिलालाई बढी नोक्सान गराउँछ । उथलपुथल भइरहेको समुदायमा बस्ने धेरै बच्चाबच्चीकी आमा वा उत्पीडित महिलालाई अझ बढी यसले नोक्सान पुर्याउँछ ।
गरिबी तथा निम्न सामाजिक स्तर
गरिबीले महिलालाई अत्यन्तै दयनीय स्थितिमा बाँच्न वाध्य गराएको छ । गरिबीले गर्दा महिलाहरूमा धेरै शारीरिक तथा मानसिक स्वास्थ्य समस्याहरू पर्छन् । उदाहरणका लागि गरिब महिलाहरू प्रायः सरसफाइमा कम ध्यान दिन्छन् । किन की उनीहरू काममै ब्यस्त हुन्छन् । आवश्यकता अनुसारको राम्रो खाना खान पाउँदैनन् । स्वास्थ्यसेवा समयमा लिन पाउदैनन् ।
कुनै पनि परिवार तथा समुदायमा व्यक्तिको आफ्नो स्थान वा दर्जाको निकै महत्व हुन्छ । हाम्रो देश नेपालमा महिलाको स्तर पुरुषको भन्दा केही तलै छ । यस कारणले महिला र पुरुषमा विभेद उत्पन्न हुन्छ । यद्यपि विभेद गर्ने तरिका समुदायपिच्छे फरक–फरक हुनसक्छ, तर जुन तरिकाबाट विभेद भए पनि त्यसले महिलाको स्वास्थ्यमा असर पार्दछ ।
धेरै परिवारले छोरालाई महत्व दिन्छन् । मरेपछि छोराले श्राद्ध गर्छ र वंशवृक्ष बढाउँछ भन्ने विचार राखिन्छ । निम्न सामाजिक स्तर भएका समुदायमा छोरीलाई थोरै अवधि स्तनपान गराउने, कम आहार र कम स्वास्थ्यसेवा उपलब्ध गराइन्छ भने, कम शिक्षा दिइन्छ वा दिइदैन । यसले पनि महिलाको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याइरहेको हुन्छ । महिलामाथि हुने भेदभावमा पनि बारम्बार गर्भवती हुने एउटा कारण बनेको छ । छोरा नपाउन्जेलसम्म महिलाले बारम्बार गर्भवती भइरहनु पर्ने समस्या अझै पनि कायमै छ । यी सबै अवस्थाहरूका चापमा महिलाहरूले अस्वस्थकर जिन्दगी बाँच्नु परिरहेको छ ।
यसरी परिवार तथा समुदायमा भएको गरिबी र विभेदले महिलाका अनगिन्ती स्वास्थ्य समस्याहरू पैदा गर्ने मात्र होइन, यिनीहरूले स्वास्थ्यसेवा दिन बाधासमेत पुर्याउँछ ।





























प्रतिक्रिया