अठार जनाको टोलीले पूरा गर्‍यो क्वारेन्टाइन बसाइ, १७५ जना आज घर फर्कने

अठार जनाको टोलीले पूरा गर्‍यो क्वारेन्टाइन बसाइ, १७५ जना आज घर फर्कने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइन बसाइ पूरा गरी आइतबार घर फर्किएको छ ।

नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको जहाजका चालकसहित १८ जनाको शनिबार सङ्कलन गरिएको नाक र घाँटीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण नपाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १५ औँ दिनमा आइतबार अपराह्न घर फर्काइएको हो ।

उनीहरुलाई नेपाल वायु सेवा निगमका कर्मचारीसमेत लिन आएका थिए । १८ जनालाई बिदाइ गरी घर फर्काइएको सुरक्षाको नेतृत्व गरिरहेको नेपाली सेनाको वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जानकारी दिए । उनले क्वारेनटाइन राख्न हुँदैन भन्दै विरोध गर्ने स्थानीय बासिन्दा आइतबार भने यही आएर बिदाइ गरेको जानकारी दिए ।

यस अघि फागुन ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो भने दोश्रो पटक क्वारेन्टाइन बसेको १४ औँ दिनमा शनिबार स्वाब नमूना सङ्कलन गरिएको थियो ।

यता खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १७५ जनाको भने रिपोर्ट सोमबार (आज) सम्म आउने र नेगेटिभ रिपोर्ट आएमा आजै घर पठाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

धेरै जनाको स्वाब नमूना एकै पटक परीक्षण गर्नुपर्ने भएकाले समय लागेको र सबैको रिपोर्टमा कोरोना सङ्क्रमण नभएको आयो भने मात्रै घर फर्काइने भएको हो । मन्त्रालयका अनुसार १७५ जनामध्ये एक जनामा मात्रै कोरोना सङ्क्रमणको लक्षण देखियो भने पनि सबैलाई फेरी अर्को १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । खरिपाटी क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा रहनु भएका नेपाली सेनाका क्याप्टेन डा निवन फुयाँलले अहिलेसम्म क्वारेन्टाइनमा रहेका कसैमा पनि ज्वरो आउने, रुघा लाग्नेजस्ता कुनै लक्षण नदेखिएको बताए।
रासस

Skip This
Skip This
Logo