अधिकारीद्वारा नेपाल वायुसेवा निगम संचालक समिति अध्यक्षको पदभार ग्रहण

अधिकारीद्वारा नेपाल वायुसेवा निगम संचालक समिति अध्यक्षको पदभार ग्रहण


काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले नेपाल वायुसेवा निगम संचालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् । उक्त अवसरमा आयोजित समारोहमा उनले निगम बुझेका कर्मचारीहरुले संस्थाको सुधारका लागि कुन मोडलमा जाने भन्ने कुरा अध्ययनको आधारमा सिफारिस गर्नुपर्ने उल्लेख गरे ।

उनले व्यवस्थापन सामुहिक प्रयासमा अघि बढनुपर्ने उल्लेख गर्दै विश्वका कतिपय विमान कम्पनी व्यवस्थापन फितलो हुँदा घाटामा गइरहेका वा धराशायी भएको बताउँदै त्यसबाट सिकेर संस्थालाई अगाडि बढाउनुपर्ने र निगम व्यवस्थापन चुस्त दुरुस्त बनाउनु पर्ने सल्लाह दिए । विश्वमा पर्यटन व्यवसाय तीब्र प्रतिस्पर्धामा गएकाले निगमले पनि प्रतिस्पर्धी क्षमता बढाउनु पर्ने उनको भनाई थियो ।

उनले निगमका तर्फबाट प्रस्तुत गरिने निगमको हितसँग सम्वन्धित विषयमा मन्त्रालय जहिले पनि सहयोगी बन्ने र कुनै बाधा व्यवधान आए समाधान गर्न सक्रिय रहने विश्वास दिलाए ।

नेपाल वायुसेवा निगममा सरकारको लगानी भएकोले यसको हेर विचार पनि सरकारले नै गरिरहेको र भविष्यमा मोडेल परिवर्तन गर्नु उपलब्धि पूर्ण ठानिएमा त्यसतर्फ सोच्न सकिने उनको भनाइ थियो ।

निगमका निमित्त महाप्रवन्धक गणेश बहादुर चन्दले अनुभवी र योग्य सचिव निगमले अध्यक्ष पाएकोले संस्थाको प्रगति सुनिश्चित रहेको उल्लेख गर्दै उनको कार्यकालको सफलताको कामना गरे । उक्त अवसरमा विभिन्न विभागका निर्देशकहरुले आ–आफ्नो क्रियाकलाप र प्रगतिबारे जानकारी गराएका थिए ।

Logo