तातोपानी नाकामा कोरोना हेल्थ डेस्क स्थापना

तातोपानी नाकामा कोरोना हेल्थ डेस्क स्थापना

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

चीनमा फैलिएको नोवल कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन उत्तरी नाका तातोपानीमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

भोटेकोशी गाउँपालिकासँग समन्वय गरी स्थानीयवासीमा जनचेतना जगाउने उद्देश्यले प्रचारप्रसार गर्नुका साथै हेल्थ डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् ।

डेस्कमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको र कोरोना भाइरसको लक्षण देखिएमा बिरामीलाई तत्काल काठमाडौं अस्पतालमा पठाइने व्यवस्था मिलाइएको जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताए ।

तिब्बती भूभागमा हाल हिमपात भई सडक बन्द भएको र ल्होछार पर्वसमेत परेकाले एक सातादेखि चीनबाट सामान आयात बन्द गरिएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी केशव वलीले जानकारी दिए।

अध्यागमन कार्यालयका अनुसार खासा क्षेत्रमा शुरुदेखि नै चिनियाँ चिकित्सकबाट स्वास्थ्य परीक्षण गरी सामान्य ज्वरो आएका व्यक्तिलाई पनि नेपाल प्रवेशमा रोक लगाउँदै आएको छ ।

विसं २०७२ को भूकम्पबाट बन्द रहेको नाका गत जेठ १५ गते पुनः सञ्चालनमा आएको थियो । एक दिने पासको व्यवस्था भए पनि नेपाली कामदारलाई चिनियाँ पक्षले खासाभन्दा माथि प्रवेश निषेध गरेको छ । त्यहाँ जाँदा पनि बिहान गएर अपराह्न ३ बजे पुनः फर्कनुपर्ने बाध्यकारी नियम लागू गरेको अध्यागमन कार्यालयले जनाएको छ ।
रासस

Skip This
Skip This
Logo