३२ औं विश्व एड्स दिवस आज नेपालमा पनि मनाईंदै

३२ औं विश्व एड्स दिवस आज नेपालमा पनि मनाईंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आज डिसेम्बर १ नेपालमा पनि ३२ औं विश्व एड्स दिवस मनाईंदै छ । ‘एचआईभीको नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका’ भन्ने मूल नाराका साथ नेपालमा यो दिवस मनाउन लागिएको हो ।

विश्वमा नै जनचेतना र एआरभी औषधिको प्रयोगका कारण एचआईभी संक्रमणमा कमी आएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले शनिबार टेकुमा सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ ।

केन्द्रका निर्देशक डा. अनुज भट्टचनले नेपाल सरकारले अहिले ४९ जिल्लामा एचआईभी संक्रमितलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमबाट सुविधा दिन शुरु गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘औषधि सरकारले निःशुल्क दिन्छ, समुदायले एचआईभी संक्रमितलाई हेयको दृष्टिले हेर्ने नभई त्यस्ता व्यक्तिलाई स्थापित गर्ने दायित्व समुदायको हो।

एचआईभी संक्रमण पनि उपचार गरे नियन्त्रणमा राख्न सकिने सुगर, प्रेसर जस्तै रोग हो र अकाल मृत्यु टर्छ।’ एचआईभी संक्रमितलाई लाञ्छना र विभेद हटाउन सके मात्र औषधिले काम गर्छ। विश्वले नै एचआईभी संक्रमितका लागि सजिलो र भरपर्दो औषधि पत्ता लगाइसकेको अवस्थामा नेपालीहरूले संकुचित भावनाले बिरामीलाई नहेर्न समेत डा. भट्टचनले आग्रह गर्नुभयो।

उहाँले एआरभी औषधि खाएकाबाट एचआईभी संक्रमण नहुने र यो औषधिको प्रभावकारिता ९१ प्रतिशत रहेको बताउनुभयो । सन् २०१८ सम्म विश्वमा ३ करोड ७९ लाख व्यक्तिमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ भने नेपालमा २९ हजार ९ सय ४४ जनामा एचआईभी संक्रमण भएको अनुमान गरिएको तथ्यांक केन्द्रले सार्वजनिक गरेको छ।

Logo