शरीर आकर्षक बनाउन र मोटोपन घटाउन हिजोआज जिम गर्ने मानिसहरुको संख्या निकै बढ्दो छ । के पुरुष, के महिला अचेल सबैजना आकर्षक शरीर बनाउने होडमा जिम जाने गर्छन् । जिम सेन्टर गएर बढी तौल उचाल्यो भने शरीर आकर्षक बन्छ भन्ने भ्रम धेरैमा पाइन्छ ।
मानिसको शरीर तीन प्रकारको हुन्छ– एक्टोमर्फ, मेसोमर्फ र एन्डोमर्फ । एक्टोमर्फ टाइपको शरीर हुनेहरू दुब्ला हुन्छन् र उनीहरूको शरीरको हड्डी पनि सानो हुन्छ । यस्ता शरीर भएकाहरूले जिम सेन्टर ज्वाइन गर्नु अघि तौल बढाउने डाइट खानुपर्ने हुन्छ । शरीरमा चाहिने जति तौल भएन भने जिम गरेर मात्र शरीर आकर्षक देखिँदैन ।
मेसोमर्फ टाइपको शरीर हुनेहरूको हड्डी ठूलो हुन्छ । बनावटको हिसाबले यस्तो शरीर भएकालाई आकर्षक मान्छेको सूचिमा राखिन्छ । यस्तो शरीर भएकाले थोरै मेहनत गरेर पनि आफ्नो शरीर आकर्षक बनाउन सक्छन् । साह्रै दुब्लो र साह्रै मोटो नहुने भएकाले शारीरिक व्यायाम गर्दा यस्तो खालका शरीर हुनेहरूमा रिजल्ट चाँडै देखिन्छ ।
एन्डोमर्फ टाइपका शरीर हुनेहरू मोटा र शरीरमा बोसोको मात्रा बढी भएका हुन्छन् । शरीरको फ्रेम ठूलो हुन्छ । तौल पहिला नै बढी हुने भएकाले तौल बढाउने जरुरत पर्दैन । यस्ता शरीर भएकाले निकै मेहनत गरेपछि मात्र शरीर आकर्षक बनाउन सक्छन् ।
सबैभन्दा पहिले जिम किन गर्ने भन्ने कुरामा प्रष्ट हुनु जरुरी छ । शरीरको तौल घटाउन हो वा बढाउने ? तौल घटाउन वा बढाउन जुन कारणले जिम गर्ने भएपनि जिम ट्रेनरको सल्लाह अनुसार ब्यायाम गर्ने र त्यसै अनुसारको खानपानमा ध्यान दिनुपर्छ ।
जिम गर्दा ध्यान दिनु पर्ने कुराहरु :
१. हप्तामा ३ देखि ४ दिन मात्र जिम गर्ने :
हप्तामा सात दिन नै जिम गर्नु पर्छ भन्ने मान्यता गलत हो । ३, ४ दिन जिम गरेपछि एक दिन आराम गर्नु पर्छ । हप्ताभरि जिम गर्दा शरीरलाई आराम पुगेको हुँदैन । लगातार शरीरलाई प्रेसर दिँदा धेरै थकाइ लाग्छ । यस्तो भएमा केही खाए पनि शरीरमा लाग्दैन । त्यसकारण हप्तामा सातै दिन भन्दा १ दिन बिराएर जिम गर्नु उपयुक्त हुन्छ ।
२. कम्तीमा दिनमा ८ घण्टा सुत्ने :
जिम गर्न सुरु गरेपछि दिनमा ८ देखि ९ घण्टा कम्तीमा सुत्नु पर्छ । राम्ररी निन्द्रा पुगेन भने धेरै थकाइ लाग्छ । शरीरलाई फ्रेस अनुभव गराउन पनि जिम गरेपछि नियमित रुपमा राम्रो निन्द्रा लिन आवश्यक छ ।
३. सन्तुलित खाना खाने :
जिम गर्ने मानिसले सन्तुलित खाना खानु पर्छ । दुब्लो शरीर भएमा धेरै खानु पर्छ । यदि शरीर मोटो छ र तौल घटाउन जिम गर्दै हुनुहुन्छ भने थोरै थोरै खानेकुरा छिटो छिटो खानु पर्छ । यदि मोटाउनु छ भने शक्ति कम खर्च गर्ने र धेरै खाने गर्नु पर्छ । जिम गर्ने मान्छेले सन्तुलित भोजन खाएन भने हड्डी भाँचिने र काम गर्न नसक्ने हुन्छ । दौडिन नसक्ने, एकदम चाँडै थाक्ने जस्ता असरहरु देखिन सक्छ । शरीर घटाउन भन्दै जिम गर्दा क्षयरोग (टिवी) पनि लाग्ने सम्भावना हुन्छ । त्यसैले जिम गर्न सुरु गरेदेखि नै नियमित रुपमा सन्तुलित भोजन खानु पर्छ ।
४. जिम हलभित्र सावधानी:
पहिलो पटक जिम हलमा जाँदा अरुले गरेको देखेर म पनि त्यही गर्छु भन्नु हुँदैन । आफ्नो क्षमता कति छ त्यो हिसाबले र जिम प्रशिक्षकको सल्लाहमा गर्नु पर्छ । जिम गर्दा अपनाउनु पर्ने सावधानी नियम र गर्ने तरिकाहरुबारे जिम प्रशिक्षकसँग सोधेर राम्रोसँग गर्नु पर्छ ।
५. प्रोटिनयुक्त खाने कुरा खाने :
जिम गर्न सुरु गरेपछि शरीर दुब्लो पातलो जस्तो भएपनि प्रोटिन युक्त खानेकुरा खानुपर्छ । कार्बोहाइड्रेड भएका खानेकुरा जस्तै दाल, भात, तरकारी भन्दा पनि प्रोटिन युक्त खानेकुरा जस्तै मासु, राज्मा, चना, अण्डाको सेतो भाग आदि खानु पर्छ ।
६. एकै पटक धेरै तौल नउठाउने :
जिम गर्न सुरु गर्ने वित्तिकै अरुले गरेको देखेर म पनि यति गर्न सक्छु भनेर एकै पटक धेरै तौल उठाउनु हुँदैन । आफ्नो सुरुको क्षमता १० किलो उठाउने छ भने त्यतिबाट मात्र सुरु गर्नु पर्छ । हप्तैपिच्छे जिम गर्दै जाँदा शरीरमा इनर्जी बढ्दै गएपछि १० बाट २०, २० बाट ३० गर्दै तौल बढाउँदै लैजानु पर्छ ।
७. जिम जानु १५ मिनेट अघि केहि खाने
जिम जानु १५ मिनेट अघि केही खानु राम्रो हुन्छ । यद्यपी धेरै चाहिं होइन । जस्तै ः चिया र बिस्कुट, फल वा जुस खानु पर्छ । खाली पेट वेट ट्रेनिङ गर्दा सोचे जस्तो नतिजा हासिल नहुन सक्छ । व्यायाम खाली पेटमा गर्नु पर्छ भन्ने अवधारणा छ तर यो नियम योग एवं प्राणयामका लागि हुन्छ । जिममा वर्कआउटका लागि पर्याप्त इनर्जी हुनु आवश्यक छ । खाली पेट जिम गर्दा एसिडिटी बढ्न सक्छ ।
८. शरीरको सबै भागको ब्यायाम गर्ने
ब्यायाम गर्दा शरीरका मुख्य छ भाग–छाती, ढाड, पाखुरा, खुट्टा र हातको ब्यायाम गर्नुपर्छ । यी ६ भागको व्यायाम गरेपछि मात्र शरीर बलियो हुन्छ । कतिपय केटाहरुले हात ठूलो देखाउने हिसाबमा खुट्टाको एक्सरसाइज नगर्ने बानी हुन्छ । यसले हात ठूलो हुनु भन्दा पनि झन कमजोर भइन्छ । शरीरको हरेक भाग एक अर्कासित जोडिने हुँदा सम्पूर्ण भागको व्यायाम गर्नु पर्छ । यसो नगरेमा शरीर राम्रो र बलियो हुनु भन्दा पनि कमजोर हुन थाल्छ ।
जिम गर्दा नियमित सेवन गर्नु पर्ने खानेकुरा :
१. अण्डा
अण्डामा प्रोटिन, भिटामिन र खनिजको मात्रा हुन्छ । विभिन्न अध्ययनले अण्डामा एन्टिअक्सिडेन्ट, एमिनो एसिड, फाइदाजनक फ्याट र अन्य महत्वपूर्ण पौष्टिक तत्व प्राप्त हुने बताएको छ, जुन स्वास्थ्य र मसल्स बनाउन निकै महत्वपूर्ण मानिन्छ । तर, ध्यान दिनु पर्ने कुरा के भने सधैँ उमालेको अण्डा मात्र प्रयोग गर्नुपर्छ ।
२. काजु, बदाम
मसल्स बनाउन खोजिरहनेहरुले भने नियमित रूपमा बदाम, काजु, ओखर आदिको प्रयोग गर्नुपर्छ । यसका साथै ड्राइफुडको पनि सहारा लिन आवश्यक छ । किनकि, यसबाट पौष्टिक तत्व, भिटामिन बी, ई, आइरन, पोटासियम, म्याग्नेसियम, खनिज लगायतका तत्व प्राप्त गर्न सकिन्छ । जसले मसल्स निर्माणका लागि मद्दत गर्छ ।
३. हरियो तरकारी
अधिकांश तरकारीमा क्यालोरीको मात्रा कम हुन्छ । तर, यसबाट फाइबर, फोलिक एसिड, भिटामिन ए, ई र सीसहितको पौष्टिक तत्व प्राप्त हुन्छ । यस्ता तत्वले रक्तचाप सन्तुलित राख्नुका साथै मसल्स निर्माणमा पनि सहयोग गर्छ । तरकारीमा एन्टिअक्सिडेन्ट बढी मात्रामा हुने भएकाले मसल्स बनाउन राम्रो विकल्प हुन्छ ।
४. अन्न
मसल्स बनाउन जिम गइरहेकाहरुले भने फास्टफुड, जंकफुड र प्रोसेस्ड खानेकुराको सेवन अत्यधिक कम गर्न जरुरी छ । यस्तो खाद्यपदार्थको प्रयोग नगर्दा स्वास्थ्यलाई फाइदा गर्छ । यसको सट्टामा अन्नको प्रयोग गर्न सकिन्छ । जस्तै– चामल, गहुँ, दाल आदिबाट बनेका खानेकुरा । यस्ता खाद्यपदार्थले कार्बोहाइड्रेटका साथै ऊर्जा पनि प्रदान गर्छ । ऊर्जा बढी भएमा आवश्यकता अनुसार व्यायाम गर्न सकिन्छ ।
५. फलफूल
मसल्स बनाउन फलफूलको प्रयोग पनि आवश्यक छ, जुन स्वस्थ्यकर पनि मानिन्छ । फलफूलबाट भिटामिन, खनिज तथा कैयौँ प्रकारका पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ । यसले मसल्स निर्माणमा सहयोग गर्छ ।
जिमका सकारात्मक पक्षहरु :
१.स्वस्थ मुटु
हाम्रो मुटुको स्वास्थ्य सिधै हाम्रो शारीरिक सक्रियतासँग जोडिएको हुन्छ । हामी जति शारीरिक रुपले स्वस्थ हुन्छौं त्यति नै हाम्रो मुटु स्वस्थ हुन्छ । यसका लागि दैनिक शारीरिक रुपले धेरै सक्रिय रहन आवश्यक हुन्छ । जो मानिसहरु दैनिक शारीरिक रुपले सक्रिय हुँदैनन् उनीहरुलाई मुटुसँग जोडिएका विभिन्न रोगहरु लाग्न सक्छ ।
२. राम्रो निन्द्रा
विभिन्न अध्ययनहरुबाट नियमित अभ्यास गर्ने मानिसहरुलाई रातमा निन्द्रा राम्रो आउने प्रमाणित भएको छ । किनभने व्यायामको कारणले हाम्रो शरीरका सर्केडियन रिदम मजबुत हुन्छ जसले हामीलाई सक्रिय राख्न मद्धत गर्छ । यसैकारण रातमा राम्रो निन्द्रा आउँछ ।
३. शारीरिक ऊर्जा बढ्छ
हामी जिम अथवा व्यायामको कारणले दिनभर सक्रिय रहन सक्छौं । किनभने व्यायामको क्रममा हाम्रो शरीरमा केही खास किसिमका हार्मोनहरु रिलिज हुन्छन् जसले हामीलाई दिनभर एक्टिभ बनाइराख्न मद्धत गर्छ ।
४. आत्मविश्वास बढाउँछ
नियमितरुपले जिम गर्दा आफ्नो शरीरलाई पर्फेक्ट आकारमा ल्याउन सकिन्छ जुन आम मानिसको चाहना हो । जसका कारण आत्मविश्वास पनि बढ्छ । शरीरको उत्तम बनावट र सकारात्मक सोचका कारणले आफ्नो घर वा कार्यालयमा पनि पहिलेभन्दा धेरै राम्रो तरिकाले काम गर्न सकिन्छ ।





























प्रतिक्रिया