सांसद डा. शर्माको पहलमा पाल्पामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, २ हजार बढीले गराए उपचार

सांसद डा. शर्माको पहलमा पाल्पामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, २ हजार बढीले गराए उपचार

केन्द्रबिन्दु
84
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीसहित पाल्पा पुगेका छन् । उनकै पहलमा बुधबार रामपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २२ सय ५१ जना बिरामी लाभान्वित भएका छन् ।

सुशील कोइराला स्मृति प्रतिष्ठानको आयोजना, रामपुर नगरपालिकाको सहआयोजना तथा कालीगण्डकी फाउन्डेसन नेपालको समन्वयमा रामपुर आयुर्वेदिक अस्पतालमा भएको शिविरमा १८२ जनाको ईसीजी गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । त्यस्तै, १५० जनाको भिडियो एक्सरे, २०३ जनाको ल्याब र ९५ जनाको ईको गरिएको छ भने २३ जनाको दाँत खोलिएको छ । साथै ७३ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति एवं सुशील कोइराला स्मृति प्रतिष्ठानका अमरसिंह पुनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सांसद डा. शर्मा विशिष्ट अतिथि रहेका थिए । रामपुर नगरपालिकाका मेयर रणबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसदहरु निमा गिरी, राजुप्रसाद श्रेष्ठ, वीरबम राना, कांग्रेस महासमिति सदस्य सन्दीप राना र रामपुर नगरपालिकाकी उपमेयर बालकुमारी थापा अतिथि रहेका थिए ।

सांसद डा. शर्माले दुर्गम गाउँका जनतालाई स्वास्थ्य चेकजाँचका लागि केही राहत होस् र पैसा नभएका कारण कोहि पनि उपचारबाट वञ्चिन हुन नपरोस् भन्ने हेतुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । यसअघि केएमसीको स्वास्थ्य टोली लिएर सुदूरपश्चिम प्रदेशमा पुगेका उनले बैतडीको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए, जसमा हजारौंले स्वास्थ्य लाभ लिएका थिए ।

Logo