मेडिकल सुपरभिजनमा गर्नुपर्ने सौन्दर्य उपचार पार्लरले गर्नु हुँदैन

मेडिकल सुपरभिजनमा गर्नुपर्ने सौन्दर्य उपचार पार्लरले गर्नु हुँदैन

पार्लरहरुका लागि मापदण्ड हुनुपर्छ, डाक्टरको काम पार्लर हुन हुँदैन

केन्द्रबिन्दु
56
Shares

सुन्दर देखिन जो पनि चाहन्छ । कुनै दुर्घटनामा परेर भएका दाग हटाउन गरिने उपचारलाई अपवाद मान्ने हो भने त्वचा कसरी सुन्दर बनाउने र के गर्दा आफू राम्रो देखिन सम्भव छ भनेर उपाय खोज्ने मानिसहरु धेरै छन् । शरीरको बोसो घटाउनेदेखि सर्जरी गरेर अनुहार राम्रो बनाउन चाहने धेरै छन् । थरीथरीका रसायनयुक्त सौन्दर्य प्रसाधनको प्रयोग बढेका बेला चिकित्सकको सल्लाह लिने चेतना पनि बढ्दैछ । सुन्दर देखिन गरिने सामान्य मेकअपदेखि प्लाष्टिक सर्जरीसम्मको क्षेत्रमा सर्वसाधारणको बुझाइ र चिकित्सकीय दृष्टिकोणका विषयमा प्लाष्टिक तथा कस्मेटिक सर्जन डा. सुयोग मैनालीसँग गरेको संवाद –

अहिले प्रविधिले प्रकृतिलाई नै चुनौती दिएको छ । प्रकृतिको विपरीत गएर सुन्दर देखिनकै लागि हामी जे जे गर्छौ त्यो दीर्घकालीन रुपमा स्वास्थ्यलाई हानिकारक छ कि छैन ?

प्रकृतिलाई चुनौती दिएर आफूलाई अझ बढी सुन्दर बनाउने हाम्रा गतिविधि परापूर्वकालदेखि नै चलिरहेको छ । तीनचार हजार वर्ष पहिला रोममा लिपिस्टिकको प्रयोग भएको थियो । गाजल लगाउने, आदिवासीहरुले जिउमा ट्याटुहरु खोप्ने धेरै पहिलादेखि चलिआएको चलन हो । अहिलेको मोर्डन मेडिकल विज्ञानले त्यसलाई अझ बढी परिष्कृत गरेर सकेसम्म स्वास्थ्यमा हानी नहुने गरेर, लामो अनुसन्धानहरु गरेपछि मात्रै अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको उपचारहरु भइरहेका हुन्छन् । त्यसैले समग्र स्वास्थ्यमा त्यसले हानी गर्दैन ।

अहिले विभिन्न खालका फिलरहरु गर्ने गरिन्छ । त्यसैगरी गोरो बनाउनलगायत अन्य कामका लागि प्रयोग गरिने सूईहरुले दीर्घकालीन रुपमा काम गर्छ कि गर्दैन ? यसको प्रभाव के हुन्छ ?

फिलर कुनै ठाउँमा खाल्डो परेको छ भने त्यस्तो स्थानमा भर्ने एउटा ह्यालुरोनिक एसिड भन्ने तत्व हो । जुन आफ्नो शरीरमा पनि पाइन्छ । त्यसैको डेन्स फर्मलाई फिलर्स भन्छौ र त्यसको प्रयोग गर्छौ । दीर्घकालीनरूपमा यसले खासै हानी गर्दैन । विस्तारै विस्तारै शरीरले आफैं सोसेर लान्छ । साधारणतया एकदेखि डेढ वर्षका लागि काम गर्छ । यसको साथै दीर्घकालीन रुपमा समाधान गर्नका लागि बोसोहरु निकालेर गर्ने विधि पनि छ । फिलर जस्तै काम गर्ने तरिकाले आफ्नै शरीरको बोसो निकालेर एउटा ठाउँबाट अर्को ठाउँमा हाल्दा पनि दीर्घकालिन हुन्छ । गोरो बनाउन अन्य इन्जेक्सनहरु अथवा कपाल उमार्ने सुईहरु प्रयोग गर्ने गरिन्छ । तिनीहरु फिलर्स नभएर आफ्नै रगतबाट ग्रोथ फ्याक्टर्सहरु छुट्याएर हाल्ने विधि हो । जसले कपालको वृद्धि विकास, पहिलाको भन्दा बाक्लो होस भनेर यस्तो विधि अपनाइन्छ । यो भने दीर्घकालीन समाधान होइन ।

शरीरमा रौं हुनु प्राकृतिक नै हो तर कसैको शरीरमा आवश्यकभन्दा बढी नै हुन्छ, यसको कारण के हो ?

त्यसको कारण सबैभन्दा पहिला वंशाणु नै हुन्छ । जस्तो बाहुन, क्षेत्रीहरुको अलि बढी रौं पलाउछ भने मंगोलियनहरुको अलि कम पलाउने हुन्छ । तर पनि महिलामा अझ बढी रौं पलाउने कारण हर्माेनको मात्रा बढी भएर पनि हो । पाठेघरको समस्या पोलिसिस्टिक ओभरी सिन्ड्रोमहरु भएको कारणले पनि बढी पलाउने हुनसक्छ । जे कारणले बढी विकास भएको भए तापनि त्यसको समाधानहरु हामीसँग छ ।

यसको समाधानको कुरा गर्दैगर्दा हाम्रो छालामा रहेका कोषिकाहरुमा असर गर्छ भन्ने धारणा छ, यो कतिको सत्य हो ?

लेजरबाट रौं दीर्घकालका लागि हटाउने तरिका सन् १९७०-८० देखि चलिआएको हो । यसबाट दीर्घकालीन क्यान्सर हुने अथवा छालाको कोषिकाहरुलाई फरक पर्ने भन्ने खालको कुरा अनुसन्धानहरुले पनि भेटाएको छैन् । कहिलेकाही हुनसक्ने भनेको कालो रंगको छालामा लेजरहरु गर्दा पावरहरु मिलेर, हाइपावर भयो भने त्यो ठाउँमा सेतो दाग बस्ने जस्ता नकारात्मक प्रभाव भने हुनसक्छ । त्यसकारण यो प्रविधिको प्रयोग गर्दा अनुभवी डाक्टरहरुसँग मात्रै गराउनुपर्छ ।

सौन्दर्यको लागि विभिन्न केमिकलहरु बजारमा सजिलै भेटिन्छ । हस्पिटलमा गएर डाक्टरको सल्लाहबाट प्रयोग गर्नु र प्रचारमा आएका सामान प्रयोग गर्नुमा के फरक छ, कतिको असर हुन सक्छ ?

बजारमा आएका केमिकलहरुले एकदम ग्यारेन्टीका साथ काम गर्छ र एकदम छिटो ठिक गराउने भनेर सुरुमा हेर्दा कति राम्रोसँग चाया–पोतो सफा भयो भन्ने हुन्छ । तर विस्तारै यसले छालालाई पातलो बनाउँदै लान्छ । अनुहारको भित्रसम्मको सबै भाग देखिएर अनुहार रिकभर नहुने समस्या आउन सक्छ । वा रातो बनाएर छाड्छ । हामीले त्यस्तो सामानहरु प्रयोग गर्दा सुरुमा कडा खालको, त्यसपछि अलि कम र अन्त्यमा नकारात्मक केमिकलहरु नभएका वस्तु प्रयोग गर्ने भनेर तहगत प्रक्रियामा गर्नुपर्छ । त्यसको ज्ञान भने बजारमा पाइँदैन । जसका कारणले छालाहरु बिग्रिने गर्छ ।

अहिले पार्लरहरुमा पनि सौन्दर्य स्वास्थ्यको उपचारहरु गरिन्छ । जुन अस्पतालहरुमा गर्नुपर्ने उपचार हो त्यो पनि गर्ने गरिन्छ । त्यो कतिको राम्रो छ कि हानिकारक छ ?

पार्लरहरुले मानिसलाई सुन्दर बनाउने काम त गर्ने नै हो । तर यसमा एउटा समस्या ज्वलन्त रुपमा आउने गर्छ । मेडिकल सुपरभिजनमा हुनुपर्ने प्रक्रियाहरु नहुन सक्छन् । लेजर, केमिकल पिल जस्ता कामहरु पार्लरले नै गर्न थालेको कुरा मैले धेरै सुनेको छु । त्यो पनि सस्तो मूल्यमा । त्यो गुणात्मक हुँदैन, त्यसमा ज्ञान हुँदैन । त्यसपछि छाला बिग्रिसकेपछि बल्ल डाक्टरकहाँ ठिक गराउनको लागि भनेर आउनुहुन्छ । त्यसैले पार्लरहरुलाई एकदमै कडाइ गर्नुपर्छ । पार्लरमा यतिसम्मको काम मात्रै गर्न पाइन्छ भनेर मापदण्ड बनाउनुपर्छ । पार्लरमा बढी मापदण्डभन्दा बढी गरियो भने छालालाई असर गर्छ भन्ने बुझ्नपर्छ । रगत, केमीकल, लेजरहरुबाट गरिने उपचारहरु पार्लरहरुले गर्न नपाउने नै हो । त्यो गैरकानुनी पनि हो । त्यसलाई नियमन गर्न अहिलेसम्म नेपाल सरकारले सकेको छैन ।

हाइड्रा फेसियल भन्ने एउटा फेसियल छ, त्यो पनि डाक्टरहरुको परामर्शमा मात्रै गर्ने हो की पालरमा पनि गर्दा हुन्छ ?

हाइड्रा फेसियलमा भने कुन प्रकारको हाइड्रा फेसियल गरियो, त्यसमा भर पर्छ । सामान्य केमीकल प्रयोग गरेर बाहिरको एउटा लेयरमा मात्रै सफा गर्ने काम गर्नु हुन्छ भने त्यो पार्लरहरुले गर्दा पनि त्यस्तो हानी हुँदैन। तर जब यसमा कमसल सामानहरु, कडा केमिकलहरु प्रयोग गर्न थालिन्छ अथवा रेडियो फ्रिक्वेन्सी ह्यान्ड पिसहरु, अल्ट्रासाउन्डको ह्यान्ड पिसहरु प्रयोग गर्न थालिन्छ, एउटै हाइड्रा फेसियलमा नौं वटा ह्यान्ड पिससम्म आउँछ । अहिले त्यो प्रकारको प्रयोग गर्दा पुरै नर्भ ड्यामेज हुनेदेखि मुख बांगो हुने समस्याहरु देखिन्छ । यसको साथै छाला पातलो हुनेलगायतका धेरै प्रकारका समस्याहरु आउँछन् । त्यसैले एकदमै सामान्य हाइड्रा फेसियल पार्लरले गर्दा त्यति छाला बिग्रिने डर हुँदैन । तैपनि सकेसम्म मेडिकल सुपरभिजनमै हाइड्रा फेसियल गराउदा राम्रो हुन्छ । यस्तो कुरा सबैले बुझ्नुप-यो। यदि कुनै ठाउँमा धेरै नै सस्तोमा केही उपचारहरु भइरहेको छ, असक्षम मानिसले गरिरहेको छ भने त्यस्तो स्थानमा नजाँदा नै राम्रो हुन्छ ।

नेपालमा सौन्दर्य स्वास्थ्यको विकास बाहिरको तुलनामा त्यस्तो धेरै भएको छैन । यस सम्बन्धी उपचार गराउन आउनेहरुमा कत्तिको ज्ञान छ ? छाला बिग्रिसकेपछि आउनेको संख्या बढी छ कि पहिला नै आउनेको संख्या बढी छ ?

२०१२ मा मैले जब नेपालको पहिलो कस्मेटिक सर्जरी क्लिनिकको सुरुवात गरेँ त्यो बेला नेपालमा सौन्दर्य चिकित्सा सम्बन्धी जनचेतना पनि थिएन । त्यो बेला मानिसलाई बुझाउन सारै गाह्रो हुन्थ्यो । यस्तो पनि उपचार हुन्छ भनेर बुझ्न नै नचाहनेहरु थिए । तर अहिले विस्तारै धेरै क्लिनिकहरु पनि खुल्न थाले । धेरै डाक्टरहरुले यो सम्बन्धी शिक्षा पनि हासिल गर्नु भएको छ । त्यसकारणले अहिले जनचेतना पहिलाको भन्दा धेरै गुना माथि भईसकेको छ । अहिले मध्यम वर्गसम्मले, अलि अलि पढाइ राम्रै भएको परिवारको मानिस सुरुमा नै दक्ष मेडिकल डाक्टरकोमा नै जानुपर्छ । उपचारको लागि भनेर मात्र सिधै हामीकहाँ आउनुहुन्छ । यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छन् ।

पहिला महिला ९० प्रतिशत हुन्थे भने अहिले ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष आउने अवस्था भइसकेको छ । जसले पुरुषहरुलाई पनि आफ्नो सौन्दर्यप्रति चेतना बढिरहेको जस्तो देखिन्छ । यसका साथै पछिल्लो १०-१२ वर्षमा विदेशिने नेपालीहरुको संख्या पनि धेरै भएको र बाहिर नै धेरै प्रकारको कस्मेटिक सर्जरी र उपचारहरु देखेर चेतना बढेर नेपालमा भएका परिवारहरुलाई पनि यस्तो उपचार हुने रहेछ यो ठाउँमा जानु भनेर पठाउनुहुन्छ । डाक्टरकोमा जानुभन्दा अगाडि नै उपचारको बारेमा आफैंले नै बुझेर आउने बिरामीहरुको संख्या बढ्दो क्रममा छ ।

अहिले प्राय महिलामा देखिने समस्या भनेको चाँया–पोतोको हो । यसको मुख्य कारण के हो ? यसको उपचार पूर्ण रूपमा नै हुनसक्छ वा हुँदैन ?

चाया मुख्य तीनवटा कारणले आउँछ । एउटा घाम र धेरै तापक्रमको कारणले आउँछ । अर्को वंशानुगत जिनले आउँछ र अर्को हर्मोनको कारणले हुन्छ । जस्तै, गर्भवती हँुदा हर्मोन तलमाथि हुँदा आउनेगर्छ । यो एकचोटी आएपछि पूर्ण रुपमा निको हुन लगभग असम्भव नै छ । एकपटकको लागि हटाउन सक्छौं । विभिन्न प्रकारका उपचारहरु गरेर खाने औषधि, लगाउने औषधि, लेजर, केमिकल पिल गरेर सफा गर्न सक्छौ । तर, त्यसपछि त्यसलाई मेन्टेन गर्न सकिएन, लापरबाही गरियो भने फेरि छिटै फिर्ता आउने सम्भावना छ । त्यसैले उपचार गरेर मात्र हुँदैन । यसको दीर्घकालीन रुपमा हेरचाह पनि गर्नुपर्छ । जस्तै, डाइबिटिज भएको मानिसले आफ्नो सुगरलाई नियन्त्रणमा राख्नुपर्छ । त्यसैगरि यसलाई नियन्त्रणमा राख्नको लागि हेरचाह गर्नुपर्छ ।
यसको लागि खानपानमा पनि ध्यान दिनुपर्ने हुन्छ ?
खानपानभन्दा पनि घाम र हिटको प्रभावबाट बच्नुपर्छ ।

शरीरको विभिन्न अंगबाट बोसो तानेर गरिने एकखालको लेजरहरु पनि आइरहेको छ । यो केका लागि र कसरी गरिन्छ ?

बोसो पगाल्ने लेजर भनेर विभिन्न प्रकारका हुन्छन् । कुनै बिना अपरेसन बाहिरैबाट लेजरको लाइट, अल्ट्रा साउन्ड वेबहरु पास गरेर गर्ने विधीहरु पनि छन् त्यो दीर्घकालीन समाधान होइनन् । जुन हामी सर्जरी गरेर गर्छौ । त्यो पनि विभिन्न प्रकारका हुन्छन् । सबैको परिणाम उस्तै नै हो हुन त तर हामीले प्रयोग गरिरहेको लेजर असिस्टेड लिपोसक्सन भनिन्छ । जसलाई स्मार्ट लिपोसक्सन पनि भनिन्छ । यसमा एउटा सानो प्वाँल बनाएर लेजरको फाइवर भित्र छिराएर पहिला बोसोलाई पगालिन्छ । त्यसपछि एउटा मसिनो पाइपभित्र छिराएर जुन एरियाको बोसो घटाउन गइरहेका छौ त्यो बोसोलाई भ्याकुममार्फत तानेर बाहिर निकाल्छौ । जुन बोसो हामीले निकाल्छौ त्यो पछि कहिले पनि लाग्दैन । जति खाए पनि बोसो निकालेको भागमा कहिले पनि बोसो लाग्दैन । अर्को एउटा गलत विचार के छ भने यो तौल घटाउनको लागि हो भन्ने गलत धारणा छ । तौल घटाउनका लागि होइन । हामीले एकपटकमा ३-४ केजीसम्म बोसो निकाल्न सक्छौ । तर यो शरीरको आकार मिलाउनको लागि हो ।

यसको उपचारको क्रममा कतिको दुखाइ हुन्छ र खतरा कतिको हुन्छ ?
यो उपचार हामीले बेहोस नगराइकन गर्छौ । यो एकदमै सुरक्षित प्रक्रिया हो । यो सर्जरी भएपछि तुरुन्तै घर जान पनि मिल्छ । बेहोस बनाएर गर्दा अझ बढी समस्याहरु आउन सक्छ । अथवा शरीरमा ५-६ लिटरभन्दा बढी बोसो एकैपटक तान्ने प्रयास ग¥यो भने समस्याहरु आउन सक्छ । सामान्यतया यसमा समस्याभन्दा पनि सर्जरी गरेको स्थानमा सुन्निने, नीलो बस्ने एकदुई महिनासम्म सबैलाई हुने नै हो । त्यसपछि ठिक हुन्छ ।

यो स्तनको सन्दर्भमा सन्तान भएकाले मात्र गर्न मिल्ने हो की नभएकाले पनि गर्न मिल्छ ?

सबैले मिल्छ । यसले पछि स्तनपानमा अथवा बच्चा जन्माउनमा केही पनि हानी गर्दैन । यसबाट क्यान्सरहरु बन्ने पनि हुँदैन ।

यो प्रक्रियाले शरीरको सेप नै बिग्रिने भन्ने कुरा पनि कतै सुन्न सकिन्छ, यो के हो ?
यसबाट सेप बिग्रिने होइन, झन राम्रो हुन्छ । अर्को यो प्रक्रियाबाट गइसकेको मानिसले धेरै खाएर, ज्यानको ख्याल नगर्ने हो भने बोसो निकालेको स्थानबाहेक अन्य स्थानमा बोसो लाग्ने नै हुन्छ । त्यो कारणले पनि कसैको शरीर बिग्रिने हुनसक्छ । यो एकदमै कमै केस हो, यसमा आफ्नो खानपिनको बानीलाई नियन्त्रण गर्न सक्नु पर्छ ।

अन्त्यमा मैले जहिले भन्ने गरेको सस्तो भनेर अथवा अफर पछि नलाग्नु । राम्रोसँग बुझेर आफ्नो उपचार गर्नुपर्छ । मानिसको क्षमता के हो, सबै कुरा बुझेर राम्रो ठाउँमा गएर उपचार गर्नुपर्छ । डाक्टर भएको ठाउँमा गएर उपचार गर्नु राम्रो हुन्छ । बिग्रिसकेपछि सुधार गर्न गाह्रो हुन्छ । त्यसकारण बिगार्न नदिने हिसाबले उपचार गरौं ।

Logo