तारकेश्वरमा आँखा शिविर सम्पन्न, मोतियाविन्दु भएका ३१ जनाको निःशुल्क शल्यक्रिया गरिने

तारकेश्वरमा आँखा शिविर सम्पन्न, मोतियाविन्दु भएका ३१ जनाको निःशुल्क शल्यक्रिया गरिने

केन्द्रबिन्दु
1.1k
Shares

काठमाडौँ । तारकेश्वरमा शनिबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। परिवर्तन अभियान नेपालद्वारा आयोजित शिविरमा स्थानीय ६१० जनाको निःशुल्क आँखाको परीक्षण भएको हो।

तारकेश्वर नगरपालिका-५ स्थित् नागार्जुन माविमा आयोजित शिविर तिलगंगा आँखा प्रतिष्ठान, तारकेश्वर नगरपालिका वडा नम्बर ५, युवा सारथि क्लब र रानीवन युवा समूहसँगको सहकार्यमा सम्पन्न भएको परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले जानकारी दिए।

उनका अनुसार शिविरमा आँखा परीक्षण गराउनेमध्ये ३१ जनामा मोतियाविन्दु देखिएको र उनीहरूको मङ्गलवार तिलगंगा आँखा प्रतिष्ठानमा निःशुल्क शल्यक्रिया गराउने व्यवस्था मिलाइएको छ। त्यसका लागि प्रतिष्ठान र फूलबारी गुम्बा जगडोलसँगको समन्वयमा उनीहरूको निःशुल्क शल्यक्रिया गरिने उनको भनाइ छ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल, संस्थाका सल्लाहकारहरू सबिन तामाङ, कविता रिजाल, वासुदेव लामा, ५ नम्बरका वडाध्यक्ष शम्भु प्रसाद फुयाँल, नागार्जुन १ का वडाध्यक्ष रामेश्वर लामालगायतको उपस्थिति रहेको थियो।

Logo