काठमाडौंको सिनामंगलमा अवस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा धनकुटाका ७६ वर्षीय मेहेर्मान खड्काले नयाँ जीवन पाएका छन् । लामो समयदेखि रुमेटिक रोगबाट पीडित मेहेर्मानको केएमसीमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको हो ।
मेहेर्मान सबै हातगोडामा कमजोरी र टाउको दुखाइको समस्याबाट ग्रस्त थिए । विभिन्न औषधिहरूको प्रयोग गर्दा पनि कुनै राहत मिलेको थिएन। उनलाई टाउको पछाड़ीको भागको संकुचन कम गर्न र घाँटीको हड्डीलाई स्थिर बनाउन शल्यक्रिया आवश्यक थियो। तर, यो शल्यक्रिया जटिल र जोखिमपूर्ण थियो, विशेषगरी उनको उमेर र रोगको अवस्था हेरेर । तर, चिकित्सक र परिवारको स्विकृतिपछि केएमसीमा उनको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको हो ।
अहिले उनी आफैं बस्न सक्ने र न्यूनतम सहयोगमा हिँड्न सक्ने अवस्थामा पुगेका छन् । उनी आफ्नै हातले खाना खान र गिलासबाट पानी पिउनसमेत सक्षम भएका छन्। परिवारले अस्पतालको सेवाबाट खुसी व्यक्त गर्दै बिमा कार्यक्रममार्फत अत्यन्त कम शुल्कमा विश्वस्तरीय सुविधाहरू प्राप्त गरेकोमा केएमसीलाई धन्यवाद दिएका छन्।
शल्यक्रियाको नेतृत्व गर्ने वरिष्ठ न्यूरोसर्जन प्रोफेसर डा. अमित थापाले भने, ‘यो उमेरमा सी१ सी२को फिक्सेसन गर्नु एकदमै चुनौतीपूर्ण हुन्छ र यसमा उच्च स्तरको दक्षता र बिरामीको राम्रो तयारी आवश्यक छ। मेहेर्मानजीलाई तलको स्तरमा थप शल्यक्रिया पनि गर्नुपर्न थिए। दुबै शल्यक्रिया सफलतापूर्वक १.५ घण्टामा सम्पन्न गरियो।’
उनले थपे, ‘नेपालमा यस उमेरका बिरामीहरूको लागि यस्ता शल्यक्रिया स्वीकार्ने परिवारहरू कम छन् । धेरै बिरामी र उनका परिवारहरू शल्यक्रियाको प्रकृतिबाट चिन्तित हुन्छन् र खराब नतिजा हुने डर राख्छन्, जुन अहिले अत्यधिक कम छ, किनकी देशमा उच्च गुणस्तरको प्रविधिहरूको विकास भएको छ।’
प्रतिक्रिया