काठमाडौं । आर्थिक अवस्था कमजोर भई स्वास्थ्य उपचार नपाएका देशभरका बिरामीहरूको निःशुल्क उपचार गरिरहेको काठमाडौं मेडिकल कलेज (केएमसी)ले निःशुल्क स्वास्थ्य सेवाको कार्यलाई सधैं पहिलो प्राथमिकतामा राख्दै आएको छ । सोही पुन्य कामको निरन्तरता स्वरुप मंगलबार केएमसीले आफ्नै प्रांगणमा ओखलढुंगा जिल्लाबाट आएका ६० भन्दा बढी विरामीहरुको निःशुल्क शल्यक्रिया उपचार गरेको छ ।
केएमसीका सञ्चालक एवं नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा र सिद्धिचरण नगरपालिकाका नगर प्रमुख तेजेन्द्र खनालको विशेष पहलमा ओखलढुंगाका गरिव तथा बेसहाराहरुको बाक्लो उपस्थिती थियो ।
सांसद शर्माको स्वास्थ्य टोली गत वैशाखमा निःशुल्क उपचार दिने हेतुका साथ ओखलढुंगामा गएको थियो । उक्त निःशुल्क उपचार यात्राका क्रममा गम्भिर तथा शल्यक्रिया गर्नुपर्ने रोगको उपचार उतै गर्न असम्भव भएपछि ६० भन्दा बढी बिरामीलाई केएमसीमै बोलाइएको हो ।
आर्थिक अभावले थिलथिलिएका र उपचार नपाएर घरमै बस्न बाध्य ओखलढुंगावासीलाई निःशुल्क उपचार गर्ने हेतुले सञ्चालित कार्यक्रममा बोल्दै केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद दाहालले केएमसीमा क्यान्सरबाहेक केएमसीमा सम्पूर्ण रोगहरुको उपचार गरिँदै आएको बताए । देशभरमै सबैभन्दा अब्बल सेवा दिँदै आएको केएमसीले सामान्यदेखि गम्भिर प्रकृतीका रोग र शल्यक्रियाका प्रक्रियाहरु पनि सफल रुपमा गर्दै आएकाे उनले बताए ।

यसैगरी कांग्रेस जिल्ला समितिका सभापति तथा सिद्धिचरण नगरपालिकाका नगर प्रमुख तेजेन्द्र खनालले आफूहरुबीच भएको सम्झौता अनुरुप सांसद डा. शर्माले आफ्नो वाचा पूरा गरेको बताए । उनले केएमसीबाट आफ्ना नागरिकहरुलाई औषधीका लागि मात्रै पैसा पर्ने र बाँकी सबैको जोहो केएमसी परिवारबाटै हुनेमा पनि पूर्ण विश्वस्त जनाए । यसका साथै नगर प्रमुख खनालले पुनः एकपटक शर्माको टोलीलाई जिल्लामा आई आफ्नो सेवा दिन आग्रह गरे ।
कांग्रेसका केन्द्रिय सदस्य तथा कोसी प्रदेशका सांसद प्रदिपकुमार सुनुवारले ओखलढुंगाबासीलाई निःशुल्क स्वास्थ्य उपचार उपलब्ध गराउने सांसद शर्मालाई धन्यवाद दिनुका साथै उपचारमा आएका विरामीहरुको स्वास्थ्यमा छिटै सुधारको कामना व्यक्त गरेका थिए ।
देशका दुर्गम स्थानबाट बिरामीहरुलाई ल्याएर निःशुल्क उपचार गर्दै आएको केएमसीले केहीदिन अघि मात्रै बाजुरा जिल्लाबाट आएका १५० भन्दा बढी विरामीहरुको निःशुल्क उपचार गरेको थियो ।





























प्रतिक्रिया