काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा काठमाडौँ मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजको स्वास्थ्य टोलीले सर्लाहीमा वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।
कौडेना गाउँपालिकामा आयोजित स्वास्थ्य शिविरमा एक हजार २०१ जनाले निःशुल्क सेवा लिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । शिविरमा उपचार सेवा लिन आएका बिरामीमध्ये १०७ जनाको ईसीजी, ७० जनाको ईको, २४७ जनाको युएसजी तथा ११७ जनाको ल्याब परीक्षण भएको छ । जसमा १२१ जना बिरामीलाई केएमसीमा शल्यक्रियाका लागि रेफर गरिएको छ ।

शल्यक्रिया गर्नुपर्नेमध्ये केएमसीमा आउनेलाई निःशुल्क तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा जाँदा ५० प्रतिशत छुट उपलब्ध हुने दाहालले जानकारी दिए ।

कौडेना गाउँपालिकाका अध्यक्ष रुपेशकुमारको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा कांग्रेसका प्रदेश अध्यक्ष कृष्ण यादव, अर्थमन्त्री सुनिल यादवलगायत रहेका थिए । कार्यक्रममा सांसद डा. शर्माले मन्तव्य पनि दिएका थिए ।


































प्रतिक्रिया