काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट शारीरिक मात्र नभई मानसिक समस्या पनि देखिन थालेका छन् । गत हप्ता अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले कोभिड संक्रमितमा एन्जाइटी, डिप्रेसन जस्ता मानसिक समस्या देखिनुलाई कोभिडको दीर्घकालीन लक्षणका रूपमा सार्वजनिक गरेको थियो ।
स्वाद र गन्ध थाहा नपाउनु, अनिद्रा, ध्यान केन्द्रित गर्न नसक्नु, डिप्रेसन, एन्जाइटी र मनस्थितिमा परिवर्तन आउनु कोभिड १९ को दीर्घकालीन असर हाे ।
हालसम्म कोभिडले मानव शरीरमा पार्न सक्ने प्रभावबारे गरिएका अध्ययन र पुष्टि भएका लक्षणहरूमध्ये न्युरोलोजिकल समस्या र मानसिक समस्या पनि अधिकांशमा देखिन थालेको सिडिसीले जनाएको छ । सिडिसले भनेको छ, ‘केही प्रतिशतमा कोभिड संक्रमणका कारण पछि गएर स्वास्थ्य समस्या देखिने गरेको पाइन्छ । यस्ता समस्या केही व्यक्तिमा संक्रमण निको भए लगत्तै देखिए पनि केहीमा लामो समयको अन्तरालपछि देखिने गरेका छन्।
जसमध्ये न्युरोलोजिकल समस्या जस्तै, स्वाद र गन्ध थाहा नपाउनु, अनिद्रा, ध्यान केन्द्रित गर्न नसक्नु आदि ।’ साथै, मानसिक समस्याहरू जस्तै, डिप्रेसन, एन्जाइटी र तीव्र मुडमा परिवर्तन आउनुलाई समेत कोभिडको दीर्घकालीन असरको रूपमा औँल्याइएको छ ।
अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसरहरूको समूहले गत हप्ता सार्वजनिक गरेको एक अध्ययनमा कोभिड संक्रमण भएका करिब २० प्रतिशतमा कुनै न कुनै किसिमको मानसिक समस्या देखिएको उल्लेख छ । कोरोना संक्रमणको ९० दिनभित्र २० प्रतिशत संक्रमितले विभिन्न खालका मानसिक रोगको उपचार गरेकाले अरूमा पनि यस्तो समस्या हुन सक्ने अध्ययनमा बताइएको छ ।
ब्रिटिस जर्नल ल्यासेन्टमा प्रकाशित अध्ययनमा २० प्रतिशत अर्थात् प्रत्येक पाँचजना संक्रमितमध्ये एक व्यक्तिमा कोभिड निको भएको तीन महिनाको अन्तरालमा चिडचिडाहट, डिप्रेसन, एन्जाइटी र अनिद्राजस्ता मानसिक समस्या उत्पन्न भएको पाइएको थियो । अध्ययनले मानिसमा बिर्सने रोग हुने सम्भावना पनि अधिक रहेको देखाएको छ ।
अध्ययनले कोभिड संक्रमितमा मात्र नभई पहिलेदेखि नै एन्जाइटी, डिप्रेसन, अनिद्राको समस्या भएका व्यक्तिमा कोभिड संक्रमणको जोखिम ६५ प्रतिशतले बढी हुनेसमेत उल्लेख गरेको छ । अध्ययनले मानसिक समस्या भएका व्यक्तिमा समेत कोभिडको जोखिम देखाएपछि यसबारे थप खोजको आवश्यकता रहेको अक्सफोर्डका मनोचिकित्सा विभागका डा.टेक्वेटले बताएका छन् । उनले भनेका छन्, ‘अहिले प्रकाशित गरिएको अध्ययन अप्रत्यासित थियो र थप अध्ययनको खाँचो छ ।’ नयाँ पत्रिकाबाट































प्रतिक्रिया