के कोरोना निको भएका व्यक्तिले पुनः संक्रमण गराउँछन् ? : डा. सन्जिब ह्योजु (भिडियाेसहित)

के कोरोना निको भएका व्यक्तिले पुनः संक्रमण गराउँछन् ? : डा. सन्जिब ह्योजु (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्व महामारीको रूपमा रहेको कोभिड–१९ को विषय विश्व समुदाय आक्रान्त छ । हालसम्म विश्वमा ५ करोड ९५ लाख ७० हजार बढी मानिस संक्रमणको चपेटा बेहोरीसकेका छन् । तर, त्यसमध्ये ४ करोड, १२ लाख ३७ हजार बढीले यसलाई परास्त गरिसकेको अवस्था छ ।

तर, यी निको भएका व्यक्ति अब सधैंका लागि कोरोना मुक्त भएका हुन् त ? अथवा, उनीहरूको शरीरमा कोरोना भाइरस रहेको हुन्छ कि हुँदैन ? कोरोना भाइरस लागेर रिपोर्ट नेगेटिभ भएका व्यक्तिले कोरोना सार्ने संभावना रहन्छ कि रहँदैन ? यी र यस्ता जिज्ञासा भने आम मानिसका लागि टड्कारो बनिरहेका छन् ।

यिनै प्रश्नको उत्तर खोज्ने प्रयासमा केन्द्रविन्दुका लागि मनोज न्यौपानेले सुरुका ८ वर्ष अमेरिकास्थित हार्वड विश्वविद्यालयमा र हाल युनिभर्सिटी अफ सिकागोमा ब्याक्टेरिया/भाइरस तथा शरीरको रोग प्रतिरोधात्मक क्षमताका बारेमा सोध तथा अनुसन्धान गरि पिएचडि गरेका डा. सन्जिब ह्योजुसँग गरिएको कुराकानी (भाग–३)

भाग-१ ‘शरीरमा इम्युनिटी पावर बढी हुँदा पनि कोरोनाको असर ज्यादा हुन्छ’ : डा. संजिव ह्योजु 
भाग-२ कोरोना संक्रमणपछि कुन–कुन औषधि खाने, कसरी क्षति न्यूनिकरण गर्ने ? यस्तो छ डा.संजिव ह्योजुको सल्लाह

डा. साब, तपाईं यतिबेला अमेरिकामा हनुहुन्छ र नेपालको हालको कोभिडको अवस्था पनि बुझ्नु नै भएको छ । यस अर्थमा नेपालमा चाहिँ कोभिडको अलि बढी मनोवैज्ञानिक असर मानिसहरूमा परेको हो कि भन्ने गरिन्छ, यो साँच्चै नेपालमा मात्र हो कि विश्व भरी नै यस्तै हो ?

मानिसहरूमा मनोवैज्ञानिक असर नेपालमा मात्र नभएर विश्वभरी नै हो । एउटा त कोरोना लाग्ने डर, अर्कातर्फ लागिहालेमा त्यसको निको हुन लाग्ने समय र लामो समयसम्म यसले पुर्याउने असरका कारण मानिस बढी चिन्तित छन् । त्यसैले कोभिडको मनोवैज्ञानिक असर नेपालमा मात्र नभएर विश्व भरि नै छ । अमेरिकामा पनि यसको असर धेरै नै छ ।

जस्तो कि, कोरोना एक पटक लागेपछि पुनः लाग्दैन भन्ने सुरुको प्रक्षेपण गलत सावित भयो र, हाल दोस्रोपटक संक्रमित व्यक्ति झनै जोखिममा रहेको तथ्यांकले देखाएको छ, यस सम्बन्धमा केही प्रष्ट पारिदिनुहोस् न ।

पक्कै पनि यो सहि कुरा हो कि, हाल कोभिड दोस्रोपटक, तेस्रोपटक सम्म लागेको देखिन्छ भने, दोस्रोपटक संक्रमण हुँदा पहिलो भन्दा केहि गम्भिर र कठिन भएको पनि देखिन्छ । यस्तो स्थितिलाई यही नै हो भनेर आँकलन गर्ने आधार भने अहिलेसम्म केहि पनि छैन । तर, अध्ययनले के देखाएको छ भने, कोरोना संक्रमणपछि शरीरमा तयार भएको ‘एन्टीबडी’ लामो समयसम्म रहिरहन्छ भन्ने चाहिँ होइन । जस्तो कि, संक्रमण भएर लामो समय विरामी परेको अथवा गाह्रो भएर भेन्टिलेटरमा पुगेका व्यक्तिहरूमा केही लामो समय एन्टिबडी रहेपनि अन्य सामान्य संक्रमितहरूको एन्टिबडी लामो समयसम्म नरहने र संक्रमणको जोखिम कायमै रहने संभावना भने देखिएको छ ।

कोभिड दोहोरिएर लाग्न नदिन कस्ता सावधानी अपनाउने ? र, संक्रमित व्यक्तिको कोरोना टेस्ट रिपोर्ट नेगेटिभ देखिएपछि यो भाइरस शरीरमा रहिरहने संभावना कति रहन्छ ?

राम्रो प्रश्न, विशेष गरेर नेपालीहरूमा चाहिँ पिसिआर टेस्ट हप्ता हप्तामा दोहोर्याएर गरिरहने चलन छ । अर्कातर्फ रिपोर्ट पोजेटिभ आएपछि पनि पिसिआर टेस्ट गर्दै नेगेटिभ नआउन्जेल पूरै चिन्तामा रहिरहने पाएँ । यो भाइरस संक्रमण पछि यसको लक्षण देखापरुन्जेलसम्म अझ धेरै फैलने संभावना हुन्छ र, जति–जति लक्षण देखिएको मिति वित्दै जान्छ उतिनै संक्रमण फैलने संभावना न्यून हुँदै जान्छ । यससँगै बुझ्नु पर्ने के छ भने, रिपोर्ट नेगेटिभ नै आएपनि शरीरमा भाइरस रहिरहने संभावना भने देखिन्छ ।

भर्खरै एउटा जर्नलमा लेखिएको थियो कि, ‘कोभिड संक्रमण भएको ५ महिनापछि आन्द्राको वायोप्सी गर्दा भाइरस देखियो’ । यसको अर्थ कोरोना भाइरस शरीरमा रहिरहन सक्छ । कसैबाट चाँडै हराएर जाला र कसैमा केही समय रहिरहने संभावना देखिन्छ ।

तर, यसको अर्थ यो होइन कि, शरीरमा भाइरस हुँदैमा असर गर्छ । भाइरस शरीरमा रहेर तपाईंलाई गाह्रो हुने होइन । यदि इम्युन प्रक्रियाले कसरी प्रतिक्रिया जनाउँछ सोहि अनुसार कोरोनाका लक्षण देखिने, नदेखिने भन्ने कुरा तय हुन्छ । शरीरमा भाइरस पुनः एक्टिभ भयो भएन भन्ने कुरा एकातर्फ हो भने इम्युन प्रक्रिया पुनः सक्रिया भने चाँहि हामीलाई गाह्रो बनाउने हो । यस अर्थमा मेरो हिसाबमा यो भाइरस शरीरमा रहिरहन्छ र कोरोना नेगेटिभ नआउन्जेलसम्म पिसिआरको पछि लाग्नु पर्ने आवश्यक चाँहि ठान्दिन ।

अब, कोरोना नेगेटिभ आएपनि भाइरस शरीरमा रहिरहन्छ भनिरहँदा, त्यो नेगेटिभ व्यक्तिबाट अरु स्वस्थ व्यक्तिमा भाइरस संक्रमण हुने जोखिम चाँहि कति हुन्छ ?

संभावना नै हुँदैन त म भन्न सक्दिन । किनकी यो आफैंमा अनुसन्धानकै विषय रहेको छ । विशेष गरेर भाइरस संक्रमण भएपछि त्यस संक्रमित व्यक्तिमा भाइरसको मात्रा बढ्यो, लक्षण देखियो भने त्यसको प्रारम्भिक कालसम्म चाँहि एकबाट अर्कोमा सर्ने संभावना प्रवल हुन्छ । तर, लक्षण देखिएर त्यो न्यून भयो, संक्रमित स्वस्थ भयो र लक्षण देखिएको दुई हप्ता कटि सक्यो भने अन्य व्यक्तिलाई सर्ने संभावना रहन्छ तर त्यो संभावना अत्यन्तै न्यून हुन्छ ।

अथवा, यति निको भएको व्यक्तिमा १०० प्रतिशत भाइरस छ भने मेरो २/४ प्रतिशत सर्ने संभावना रहन्छ । यद्यपि यो अझै अनुसन्धानकै विषय पनि रहेको छ । सारांशमा संक्रमित व्यक्तिमा लक्षण देखिएर निको हुँदै गएको समय जति बित्दै जान्छ, उति नै सर्ने संभावना न्यून भएर जान्छ ।

यसको अर्थ जो सुकैले जतिसुकै बेला पनि सावधानी अपनाउनै पर्यो ?

एकदमै सहि कुरा हो । सावधानी अपनाउनै पर्यो, तर आफूलाई आइसोलेसनमै रहिरहनु पर्ने वा आइसुलेसनमा राखिरहनु पर्ने चाँहि देखिदैन । यहाँ मानिसहरू ‘संक्रमण भएको ३ हप्तासम्म पनि पिसिआर पोजेटिभ आएन, अझै कति हप्तासम्म आइसोलेसनमा बसौं ?’ भनेर प्रश्न गर्नु हुन्छ । आइसोलेशनका बस्दा बस्दा मानिस आफैमा तनावग्रष्त भइसकेको अवस्था छ । यसले कोभिड भन्दा धेरै मान्छेमा अन्य लक्षणहरू देखिन थालेका छन् । मानसिक असरले उनीहरू आक्रान्त छन्, त्रसित छन् ।

त्यसैले कोरोना संक्रमणपछि लक्षण देखिएको दुई/तीन हप्तापछि जो कोही पनि आफ्नो नियमित काममा जान सक्नु हुन्छ । माक्स लगाउनुहोस्, अन्य मान्छेको नजिक नजानुहोस्, उच्च जोखिमयुक्त वर्ग (उच्च रक्तचाप, मधुमेह, बृद्ध/बृद्धा, क्यानसर रोगी, मुटुरोगी तथा दीर्घ रोगी)को नजिक नजानुहोस् । तर, आफ्नो व्यक्तिगत जीवन खुलेर जिउनुहोस्, बन्द कोठामा थुनिएर नबस्नुहोस् ।

क्रमशः…
(नोटः हामीले डा. सन्जिब सँगको अन्तर्वार्तालाई विषय बस्तुको प्रकृती र प्रसंगका आधारमा क्रमश प्रस्तुत गर्दै आएका छौं)

Skip This
Skip This
Logo