अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएपछि त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने

अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएपछि त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने

केन्द्रबिन्दु
0
Shares

नुवाकोट।

त्रिशूली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुईपटक सङ्कलन गर्दै आएको स्वाब अबदेखि नलिने भएको छ । अस्पतालमा कोरोना भाइरस जाँचका लागि स्वाब सङ्कलन कार्यले कोरोना सङ्क्रमितको आउजाउ बढेर अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएसँगै स्वाब सङ्कलन नगर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए।

उनका अनुसार अस्पताल प्रशासन, स्वास्थ्य कार्यालय नुवाकोट र विदुर नगरपालिकाबीच भएको बैठकको निर्णय अनुसार हरेक साता सोमबार र बिहीबार सङ्कलन गरिँदै आएको स्वाब अबदेखि अनिश्चित समयसम्म बन्द गरिएको हो ।

अस्पतालले स्वाब सङ्कलन मापदण्ड बनाई यसअघि स्वाब सङ्कलन गर्ने क्रममा बढ्दो सङ्ख्या र हुने गरेको ‘अव्यवस्थित भीड’ रोक्न चुनौती देखिएकाले भाइरसको सङ्क्रमण अस्पतालभित्रै फैलने जोखिमले स्वाब सङ्कलन बन्द गर्न बाध्य भएको अस्पतालले जनाएको छ । कोरोना जाँचका लागि अस्पतालमा स्वाब दिने सुविधा बन्द भए पनि आफू बसेकै स्थानीय तहमार्फत स्वाब सङ्कलन गरिएको नमूनाको परीक्षण अस्पतालले निःशुल्क जाँच गर्ने सुविधा कायमै रहेको जनाएको छ ।

सबै सेवाग्राहीका लागि स्वाब सङ्कलन बन्द गरे पनि अस्पतालमा आकस्मिक अवस्थामा सेवा लिन पुग्ने, भर्ना भएका, शल्यक्रिया गर्नुपर्ने तथा बहिरङ्ग विभागमा जाँच गराउने बिरामीमा कोरोना भाइरसका मिल्दोजुल्दो लक्षण देखिए जुनसुकै समयमा स्वाब सङ्कलन र परीक्षण गरिने अस्पतालका मेसु डा पाण्डेले जानकारी दिए।

त्रिशूली अस्पतालले गत कात्तिक ८ गतेदेखि कोरोना जाँच गर्ने प्रयोगशाला सेवा सञ्चालनमा ल्याएसँगै नुवाकोटसहित रसुवा, धादिङ लगायतका स्थानबाट सङ्कलन गरिएको स्वाबको परीक्षण गर्न सहज हुँदै आएको छ ।रासस

Logo