वायु प्रदूषण बढी हुने ठाउँमा कोरोना सङ्क्रमण दर बढ्ने

वायु प्रदूषण बढी हुने ठाउँमा कोरोना सङ्क्रमण दर बढ्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वातावरण संरक्षणसँग सम्बन्धित विज्ञले वायु प्रदूषण बढी भएका स्थानमा बस्ने मानिसमा कोभिड–१९ सङ्क्रमण हुने र कोरोनाका कारण मृत्यु हुने सम्भावना बढी हुने अध्ययनले देखाएको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वातावरण विभाग, विश्व स्वास्थ्य सङ्गठन नेपाल, नगरपालिका सङ्घ र स्वच्छ ऊर्जा नेपालको संयुक्त आयोजनामा विहिबार भएको कार्यक्रममा कोरोना सङ्क्रमणबाट मृत्यु हुने मध्ये करिब १५ प्रतिशत वायु प्रदूषणकै कारण हुने गरिएको जानकारी दिइएको छ ।

मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा जागेश्वर गौतमले वायु प्रदूषण विश्वकै समस्या भएको उल्लेख गर्दै नेपालमा आवश्यक मापदण्डभन्दा पाँच गुणा बढी वायु प्रदूषण रहेको बताए । साथै उनले फोक्सो र मुटु रोग तथा मस्तिष्कघातको प्रमुख कारकमध्ये वायु प्रदूषण पनि एक भएको उल्लेख गर्दै सन् २०१८ मा वायु प्रदूषणका कारण नेपालमा ३७ हजार व्यक्तिको मृत्यु भएको तग्थ्याङ्क पेश गरे ।

विश्व स्वास्थ्य सङ्गठन नेपालका जनस्वास्थ्य प्रशासक डा खुर्सिद आलम हाइडरले वायु प्रदूषणले कोभिड–१९ को सङ्क्रमण र मृत्युदर दुवै बढाउने उल्लेख गर्दै सङ्गठन वायु प्रदूषण नियन्त्रणका लागि नगरपालिकाहरुलाई प्राविधिक सहयोग गर्न तयार रहेको बताए। विश्व स्वास्थ्य सङ्गठनले मन्त्रालय लगायत अन्य निकायसँग समन्वय गर्दै काठमाडौँ उपत्यकाका लागि ‘शहरी स्वास्थ्य कार्यक्रम’ दुई वर्षदेखि कार्यान्वयन गर्दै आइरहेको छ ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यान्जुले काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि सम्बन्धित नगरपालिकाले एकीकृत र समन्वयात्मक रुपमा काम गर्नुपर्ने औँल्याउँदै स्थानीय सरकारले पूर्वाधार विकास निर्माणसँगै स्वच्छ वातावरण निर्माणमा समेत ध्यान दिनुपर्नेमा जोड दिए । वातावरणविद् सञ्जयनाथ खनालले वायु प्रदूषण नियन्त्रणका लागि ट्राफिक व्यवस्थापन तथा यातायातमा सुधार, सडक धुलो नियन्त्रण, उद्योगमा सुधार र फोहर जलाउने कार्य बन्द लगायत कार्य गर्नुपर्ने सुझाव दिए ।

वातावरण विभागका उपमहानिर्देशक इन्दु जोशीले मन्त्रिपरिषदबाट गत फागुन १२ गते स्वीकृत ‘काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६’ र सो कार्यान्वयनबारे जानकारी गराएकी थिइन् । काठमाडौँ उपत्यकामा वायु प्रदूषण एक प्रमुख समस्या हो । हरेक वर्ष जाडो महिनामा वायु प्रदूषण सबैभन्दा बढी हुने भएकाले आउने दुई तीन महिनामा काठमाडौँको वायु प्रदूषण ह्वात्तै बढ्ने बताइएको छ ।

काठमाडौँमा वायु प्रदूषण हुनाका प्रमुख कारणमा सवारी साधनबाट हुने उत्सर्जन, बाटो र निर्माण गतिविधिबाट निस्किने धुलोका कण, उद्योगधन्दा तथा इँटाभट्टाबाट हुने उत्सर्जन, जथाभावी फोहर फाल्ने तथा बाल्ने लगायत हुन् । उपत्यकाका ग्रामीण भेगमा खाना पकाउनका लागि बालिने दाउराका कारण घरभित्र पनि वायु प्रदूषण पनि एक समस्याका रुपमा देखा परेको छ । नेपालमा मानिसको मृत्यु हुने प्रमुख तीन कारण मुटु सम्बन्धी रोग, फोक्सो सम्बन्धी रोग र मस्तिष्कघात हुन् । यी तीनै रोगको सम्बन्ध वायु प्रदूषणसँग पनि छ ।

स्वच्छ ऊर्जा नेपालका अध्यक्ष भूषण तुलाधरले संयोजन गरेको काठमाडौँ उपत्यकाको वायु प्रदूषण व्यवस्थापनका विषयमा उपत्यकाका स्थानीय सरकारका प्रतिनिधिसँग गोष्ठी’ विषयक भर्चुअल कार्यक्रममा उपत्यकाका नगरपालिकाका प्रमुख र उपप्रमुख लगायत वातावरण क्षेत्रका जानकारको उपस्थिति थियो ।

Skip This
Skip This
Logo