काठमाडौँ। स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि वित्तीय सुरक्षा र सुलभ स्वास्थ्य सेवा : हाम्रो चाहना’ नारासहित आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या अन्तर्गतको स्वास्थ्यसेवा विभागको उपचारात्मक महाशाखाले दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रमा विद्यमान असमानता समाधान गर्दै सर्वव्यापी पहुँच प्राप्तिका लागि तयार गरिएको मार्गचित्रअनुसार रणनीतिक कार्ययोजना कार्यान्वयन गरिने जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच भनेको सबै समुदायका मानिसले आर्थिक कठिनाइबिना गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाउनु हो । यस अवधारणाले स्वास्थ्य प्रवद्र्धन, रोकथाम, उपचार, पुनःस्थापना र जीवनको उत्तराद्र्धमा चाहिने हेरचाहसम्मलाई समेट्छ र सुदृढ प्राथमिक स्वास्थ्य सेवा प्रणालीमा आधारित हुन्छ ।’
महाशाखाका निर्देशक डा पवनजङ रायमाझीका अनुसार सर्वव्यापी पहुँचले गरिबी कम गर्न, सामुदायिक स्वास्थ्यकोस्तर बढाउन तथा जनस्वास्थ्य सङ्कटको जोखिम घटाउन मद्दत गर्दछ । उनले सङ्घीय संरचना कार्यान्वयनपछि सामाजिक–आर्थिक फरक, शैक्षिक स्थिति र विभिन्न स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखेर तर्जुमा गरिएको राष्ट्रिय स्वास्थ्य नीतिले सेवाविहीन जनसङ्ख्यामा समतामूलक सेवा उपभोगको वातावरण निर्माण गर्ने, सेवा प्रवाह सुदृढ गर्ने र समुदायबाट स्वास्थ्य सेवाको माग बढाउने लक्ष्य राखेको बताए ।
मन्त्रालयले बहुपक्षीय सहकार्यमार्फत आधारभूत सेवा विस्तार, सेवा प्रदायकको कार्यसम्पादन सुदृढीकरण, स्वास्थ्य संस्थाको क्षमता वृद्धि, विशेषज्ञ तथा विशिष्टिकृत सेवा विकास–विस्तार र नागरिकको आवश्यकता तथा क्षमताअनुसार स्वास्थ्य बिमा कार्यक्रम परिमार्जनलाई प्राथमिकतामा राखेको विज्ञप्तिमा उल्लेख छ ।





























प्रतिक्रिया